रमाको हत्यारा पक्राउ गर्ने डीएसपीसहित पाँच प्रहरी कर्मचारी पुरस्कृत
झापा । इलाका प्रहरी कार्यालय दमकका डीएसपीसहित पाँच जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र प्याक गरेर फालिएको अवस्थामा फेला परेको युवतीको शव प्रकरणमा आरोपी पक्राउ गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र प्रहरी निरीक्षक विपन विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी चौकी देउरी सुनसरीका प्रहरी सहायक हवल्दार वीरेन्द्र तामाङ तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी जवान सविन मगर रहेका छन्।
उनीहरूलाई क्रमशः रु १,५००, रु १,४००, रु १,०००, रु ९०० र रु ८०० नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको सफल अनुसन्धान तथा अभियुक्त पक्राउमा योगदान पुर्याएका प्रहरी कर्मचारीहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार नगद पुरस्कार प्रदान गरिएको जनाइएको छ। यसबाट अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक प्रभाव पर्नुका साथै कार्यसम्पादनमा थप प्रभावकारिता आउने विश्वास गरिएको छ।
जेठ १६ गते दमक नगरपालिका–५ बसन्ती टोल निवासी अन्दाजी २१ वर्षीया रोमा भन्ने रमा तिवारीको शव फेला परेपछि घटनाको सूक्ष्म अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरी भारतको बिहार राज्य, अररिया जिल्ला, सिरसिया गाउँ पञ्चायत स्थायी घर भई हाल दमक–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई कानुनी दायरामा ल्याउन प्रहरी टोलीले महत्त्वपूर्ण भूमिका खेलेको थियो।