उपभोग्य वस्तुमा 'एमआरपी' र पसलमा 'मूल्य सूची' अनिवार्य राख्न झापा सीडीओको आग्रह
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले उपभोक्ताको अधिकार संरक्षण तथा स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूले पसलमा मूल्य सूची र उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गेलालले कानुनी प्रावधानको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे ।
उनले उपभोक्ताले खरिद गर्ने वस्तुको मूल्यबारे स्पष्ट जानकारी पाउने अधिकार संविधान र कानुनले सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कुनै पनि बहानामा सीमित गर्न नहुने बताए ।
उनले वस्तुको मूल्य सूची सार्वजनिक नगर्दा उपभोक्ता अन्यायमा पर्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम रहने उल्लेख गरे । ‘खरिदकर्ताले वस्तुको अधिकतम मूल्य थाहा पाउनु उसको नैसर्गिक अधिकार हो,’ उनले भने, ‘उपभोक्ताको अधिकार कुण्ठित हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन । त्यसैले सबै व्यवसायीले मूल्य सूची राख्ने र अधिकतम खुद्रा मूल्यको पूर्ण पालना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी गेलालले बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले व्यवसायीहरूलाई कानुनी दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कर, बिलिङ तथा उपभोक्ता संरक्षणसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका कर अधिकृत शिवलाल न्यौपाने र आन्तरिक राजस्व कार्यालय झापाका कर अधिकृत गजाधर खतिवडाले व्यवसायीहरूलाई कर प्रणाली, भन्सार प्रक्रिया तथा बिलिङको महत्वबारे जानकारी गराएका थिए । उनीहरूले वस्तुको मूल्य निर्धारण र बिक्री प्रक्रियामा पारदर्शिता कायम गर्न सके उपभोक्ताको विश्वास बढ्नुका साथै व्यावसायिक वातावरण पनि सुदृढ हुने बताए ।
उनीहरूले बजारमा वस्तुको मूल्य पारदर्शी बनाउने, उपभोक्ता ठगिनबाट जोगाउने तथा व्यवसायीलाई प्रचलित कानुनी प्रावधानबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै बिर्तामोड उद्योग वाणिज्य संघको पहलको प्रशंसा गरे ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका व्यावहारिक समस्या, भन्सार र कर तिर्दा आउने जटिलता तथा बजार अनुगमनका क्रममा देखिने असमझदारीबारे जिज्ञासा र गुनासो राखेका थिए । उनीहरूले सरकारी निकायबाट थप सहजीकरण र स्पष्ट मार्गदर्शनको आवश्यकता औँल्याएका थिए ।
विशिष्ट अतिथिका रूपमा उपस्थित इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बजारको सुरक्षा, कानुनी व्यवस्था तथा उपभोक्ता हित संरक्षणका विषयमा प्रहरी प्रशासन सधैँ सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायी र सुरक्षाकर्मीबीचको समन्वयले सुरक्षित तथा व्यवस्थित व्यापारिक वातावरण निर्माण गर्न मद्दत पुग्ने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष जीवन खड्काले स्वागत मन्तव्य राखेका थिए भने महासचिव कुशल खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य निर्मल भट्टराई, संघका पूर्व अध्यक्षहरू वेदप्रकाश अग्रवाल, राजेन्द्रकुमार थापा र कुमार भट्टराई, महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुँडाल हुमागाईँ, झापा चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीलगायत बिर्तामोड क्षेत्रका उद्योगी–व्यवसायीको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्यस अवसरमा व्यवसायी मिलन शाक्य, गौरीशंकर गुप्ता, युवराज निरौला, कृष्ण अधिकारीलगायतले बजार व्यवस्थापन, कर प्रणाली, उपभोक्ता अधिकार र व्यावसायिक वातावरण सुधारका विषयमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले उपभोक्ताको अधिकार संरक्षण, कर तथा भन्सारसम्बन्धी कानुनी व्यवस्था र व्यावसायिक पारदर्शिताबारे भएको छलफलले व्यवसायीहरूलाई थप सचेत र जिम्मेवार बन्न प्रेरित गरेको बताएका थिए । बजारमा मूल्य पारदर्शिता कायम गर्दै उपभोक्ता र व्यवसायी दुवैको हित सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए ।