दुबईबाट श्रीलंका पुर्याइएका ३४ नेपाली पुगे हिरासतमा
साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ३४ नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल, बुस्स र मातरास्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये ३० जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया, म्यानमारजस्ता देशमा कडाइ र धरपकड बढेसँगै स्क्याम सेन्टरु चलाएर सङ्गठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ।
विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो सङ्ख्यामा नेपालीसमेत फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा २९ नेपालीसहित १९२ भारतीय पक्राउ परेका थिए।
कोलम्बोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विजयकुमार राउतका अनुसार मे महिनामा मात्रै साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ३४ नेपाली नागरिक पक्राउ परेका थिए। उनीहरूलाई गल, बुस्स र मातरास्थित जेलमा राखिएको थियो। हालसम्म ३० जनालाई अदालतले धरौटीमा रिहाइको आदेश दिइसकेको छ। ‘मातरामा १० जनालाई गिरफ्तार गरिएको थियो’, दूतावासका सूचना अधिकारी सागर भण्डारीले भने, ‘उहाँहरू हाम्रो सम्पर्कमा आउनुभएको थियो।’ कति सङ्ख्यामा नेपाली श्रीलंकाका यस्ता सेन्टरमा पुगिरहेका छन् भन्नेबारे थप अध्ययन गर्न बाँकी रहेको दूतावासले जनाएको छ।
‘श्रीलंकाको दक्षिणी तटीय क्षेत्रमा पछिल्लो समय साइबर ठगी र कल सेन्टरका गतिविधि निकै बढेका छन्,’ दूतावासले उपलब्ध गराएको विवरणमा भनिएको छ, १२ र १३ मेमा २४ नेपाली नागरिक कम्प्युटरसम्बन्धी कसुरमा पक्राउ परेका थिए। उनीहरूलाई सुरुमा गल जेलमा पठाइएको थियो । ती नेपालीले दूतावासमा औपचारिक सम्पर्क गरेका थिएनन्।’
यसैबीच मातरा भन्ने स्थानमा थप १० नेपाली पनि पक्राउ परेको दूतावासले जानकारी दिएको हो। दूतावासका अनुसार मातरा जेलमा रहेका नेपालीले आफूहरू साइबर अपराधमा संलग्न नभएको दाबी गरेका छन्। उनीहरूले मध्यपूर्वको सङ्कटपछि संयुक्त अरब इमिरेट्स यूएईबाट श्रीलंका आएको बताएका छन्।
मानव तस्करहरूको सङ्गठित गिरोहले युवालाई भारत, बङ्गलादेश, थाइल्यान्ड र म्यानमार हुँदै यस्ता स्क्याम केन्द्रहरूसम्म पुर्याउने गरेको प्रहरीले जनाएको छ। पछिल्लो समय श्रीलंकाले नेपालसहित ४० देशका नागरिकलाई ३० दिने निःशुल्क पर्यटकीय भिसा र अनलाइन अनुमतिको व्यवस्था गरेको छ। यसकै दुरुपयोग गरेर स्क्याम सेन्टर चलाउनेहरू त्यहाँ पुग्ने गरेको अनुमान छ। थाहा खबरबाट