२०८३ जेष्ठ ३० गते , शनिबार

झापाको दशगजा क्षेत्रमा लगाइएको चिया खेती हटाइयो

sajilo news
रासस
२०८३ जेष्ठ ३० गते , शनिबार
झापाको दशगजा क्षेत्रमा लगाइएको चिया खेती हटाइयो

 झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती शुक्रबार दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।

नेपालको पाठामारी र भारतको किशनगञ्ज क्षेत्रको ११४ नम्बर सीमा स्तम्भ नजिक दशगजामा सुनकोशी चिया बगानको ६५ वटा चियाको बोट दशगजा क्षेत्रमा परेको हुँदा हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार दशगजा क्षेत्र खाली छाड्नुपर्ने भएकाले सो क्षेत्रमा लगाइएको चियाको बोट हटाइएको हो ।

दशगजा क्षेत्र खाली गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोली आज उक्त क्षेत्रमा पुगेको थियो ।

यसैबिच, आजै बिर्तामोडमा नेपाल र भारतको सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न भएको छ । उक्त बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालको तथा किशनगञ्जका जिल्ला अधिकारी विशाल राजले भारतीय टोलीको नेतृत्व गरेका थिए ।

नापी विभाग काठमाडौँको आयोजनामा भएको उक्त बैठकमा इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू तथा एसएसबीका सीमावर्ती जिल्लाका प्रमुखहरू, जिल्ला बन कार्यालयका प्रमुखहरूलगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौहानले जानकारी दिए ।

सम्बन्धित समाचार