लागूऔषधको कुलतबाट मुक्त भएर बने अभियानकर्मी, युवालाई चेतावनी:‘एकपटकको प्रयोग पनि जोखिम’
नरेन्द्र ढकाल । बिर्तामोड
इच्छाशक्ति भए जस्तो सुकै कुलतबाट पनि मुक्त भइन्छ । तर, त्यो इच्छा शक्ति दृढ हुनुपर्छ । झापाको अर्जुनधाराका उत्सव ढकाल भन्छन्– पटक–पटकका बाचा र कसमहरूले केही गरेनन् तर, जब मैले दृढ इच्छाशक्ति बनाए त्यही बेलाबाट म कुलतबाट मुक्त भएँ । लागूऔषधको दलदलमा फसेका ढकालले लागूऔषध छाडेको १४ वर्ष पुरा भएको छ । उनी त्यो कहाली लाग्दो दिन सम्झिँदै भन्छन्– मैले मेरो परिवार, समाज, आफन्त लगायत आम मानिसलाई कति दुःख दिएँ । सम्झँदा पनि दिक्क लागेर आउँछ ।
हरेक आमा–बुबाको सपना हुन्छ आफ्ना सन्तानले प्रगति गरुन् समाजमा केही राम्रा काम गरुन् भन्ने तर, कुनै समय मैले मेरो परिवारलाई धेरै दुखित तुल्याए । आमाको माया एउटा सन्ताको लागि कति हुन्छ भन्ने मैले राम्रोसँग बुझेको छ । बस् म आज कुलतविरुद्ध सचेतना जगाउन हिँड्दा मेरो परिवारमा छाएको खुसी नै मेरो सम्पत्ति हो । आज म हिजोका विगतलाई सम्झिएर पछुतो मान्दै अब कसैले पनि यस्तो अवस्था भोग्नुनपरोस भनेर सचेतनाका काम गरिरहेको छ । किशोर अवस्थामा सङ्गतले मानिस बिग्रन्छ भन्ने हो ।
त्यसैले लागूऔषध आज त हो भोली छाड्छु भनेर कसैले पनि सेवन गर्न हुँदैन– ढकाल भन्छन्– यो त एउटा यस्तो दलदल रहेछ यसमा फसेपछि मानिस पुन सामान्य जीवन फर्किन निकै गाह्रो हुने रहेछ । लागूऔषध सेवन गर्दाका समयमा समाज, परिवार, आफन्त तथा प्रहरी, प्रशासनको नजरमा आफू अपराधी जस्तो हुने भन्दै उनले कुलतबाट जोगिन सङ्गत सबैभन्दा महत्त्वपूर्ण हुने बताउँछन् । उनले अहिले युवा पुस्तामा सचेतनाको साँचो रहेको भन्दै राज्य यसका लागि गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे । उनले केही समयमा नै रियाव सेन्टर समेत सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जानकारी दिए ।
त्यस्तै अर्जुनधारा–७ का भक्ति सिटौलाले लागूऔषध छाडेको २६ वर्ष भएको छ । उनी सम्झन्छन्– सङ्गतले गर्दा बिस्तारै लागूऔषधको दलदलमा फसियो तर, सबैको सामूहिक इच्छा शक्तिले आज यो कुलतबाट मुक्त भएको पनि २६ वर्ष भएछ । १८ वर्षको उमेरमा नै कुलतको दलदलमा फसेका सिटौलाले सन् २००० बाट भने पूर्ण रुपमा सेवन गर्न छाडेको बताउँछन् । अहिले सामाजिक काममा सक्रिय रहेका सिटौलाले भने– यो दिन सम्झँदा पनि कहाली लाग्दो हुन्छ ।
रिकबरी नेपालका केन्द्रीय सदस्य समेत रहेका सिटौलाले भने– लागूऔषध छाड्छु भनेर एउटा समूह नै बनायौँ, जसमा चार जना साथीहरू मिलेर छाड्ने अठोट गरेर सामूहिक रुपमा छाड्न सफल भयौँ । एकैले छाड्न नसक्ने भएपछि यो गलत कार्य भन्ने महसुस गरेर छाडेको उनी बताउँछन् । ६२ वर्षीय सिटौला अहिले लागूऔषध विरुद्धका विभिन्न अभियानमा सक्रिय रहेका छन् । समाजलाई कुलतबाट मुक्त बनाउनका लागि परिवार, अभिभावक तथा समाज सबै जागरूक हुनुपर्ने उनको भनाई छ ।
विद्यालय तहमा नै सचेतना मूलक कार्यक्रमहरू गरिएमा धेरै युवाहरूलाई कुलतबाट जोगाउन सकिने सिटौलाको भनाई छ । उनी सम्झन्छन्– त्यो बेला लागू औषधका विषय त्यति धेरै ज्ञान दिएन, मलाई अब यसको त ब्लड नै फेर्नुपर्छ भन्न थालेपछि म जसरी पनि यो कुलतबाट मुक्त हुन्छु भन्ने अठोट दिए । त्यही बेलाबाट बिस्तारै कुलतमुक्त बन्न सफल भएँ । समाजमा सबै जागरूक भएमा लागूऔषको दलदलमा फसेकाहरूलाई सुधार गर्न सकिने उनको भनाई छ ।
लागूऔषध नियन्त्रणका क्षेत्रमा लामो समयदेखि विज्ञका रुपमा कार्यरत रहेका कांकरभिट्टाका गोविन्द न्यौपानेका अनुसार परिवार, समाज र राज्य नै जिम्मेवार बनेका लागूऔषधलाई न्यूनीकरण गर्न सकिन्छ । लागूऔषध मुक्त नै गर्न भने असफल हुने भन्दै न्यौपानेले भने विज्ञान र प्रविधिको विकास सँगै लागूऔषको जोखिम पनि बढ्दै गएको छ । शक्ति राष्ट्रहरूले ल्याबमा नै लागूऔषधको मन्द वस्तु मिलाएर बेच्न सक्ने भएकाले यसतर्फ राज्य सजग बन्नु पर्ने धारणा व्यक्त गरे । सुर्तीजन्य वस्तुको प्रयोग तथा सेवनबाट मानिस चुरोट हुँदै गाँजा र अफिम, ब्राउन सुगर तथा कोकिन सम्म पुग्ने भएकाले सुर्ती जन्य बस्तुको विक्रिवितरण र प्रयोगमा नै नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।
लागूऔषधको कारोबार बढ्यो भनेर भन्नुभन्दा पनि यसको मागलाई न्यूनीकरण गर्न सकेमा माग नै भएन भने त्यसको कारोबार घट्छ र समाजमा प्रयोगकर्ता घट्छन्–न्यौपानेले भने । उनले लागूऔषको न्यूनीकरण गर्नका लागि आमा समूह, युवा समूह लगायतलाई सक्रिय बनाउन आवश्यक रहेको बताए । १५ देखि २० वर्ष उमेर समूह लागूऔषधको उच्च जोखिममा रहेकाले त्यो समूहलाई खेलकुद तथा अन्य विभिन्न गतिविधिमा सक्रिय बनाएमा लागू औषधको जोखिमबाट मुक्त गर्न सकिने धारणा व्यक्त गरे ।
उनले काकरभिट्टासहित जिल्लाका विभिन्न स्थानमा धेरैले लागूऔषधको दलदलमा फसेर पनि पछि सुधार भएर अहिले सामाजिक क्षेत्र तथा व्यवसायी क्षेत्रमा सक्रिय रहेको जानकारी दिए । लागूपदार्थ सेवनकर्ताका लागि राम्रो वातावरण निर्माण गर्नुका साथै नकारात्मक शब्दको प्रयोगले उनीहरूलाई धेरै असर पर्ने हुँदा सकेसम्म नकारात्मक शब्दहरूको प्रयोग नगर्न उनीहरूले सुझाव दिएका छन् । दुर्व्यसनीलाई विश्वास गरौँ र विश्वास जित्यौ भने जीवनमा बाँच्ने आधार देखाऔँ त्यो भएमा धेरै मानिसहरू समाजमा पुनर्स्थापित हुने भएकाले सकारात्मक सन्देशसहित उनीहरूलाई प्रोत्साहन गर्न सकेमा धेरैको जीवनमा सुधार ल्याऊ नसकिने अहिले कुलतबाट मुक्त भएकाहरू एकै स्वरमा भन्ने गर्छन् ।
पछिल्लो समय लागूऔषधको प्रयोग तथा ओसारपसार नेपालमा गम्भीर सामाजिक समस्याका रूपमा देखिन थालेको छ । विशेष गरी युवापुस्तामा लागूऔषधको कुलत बढ्दै जाँदा यसले परिवार, समाज र राष्ट्रलाई नै चुनौती थपेको छ । लागूऔषध नियन्त्रणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विद्यालय, क्याम्पस तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि अपेक्षाअनुसार लागूऔषधको प्रयोग नियन्त्रण हुन सकेको छैन ।
नेपाल प्रहरीले पनि लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न अभियान सञ्चालन गरिरहेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको लागूऔषध नियन्त्रण ब्युरोले देशभर विशेष निगरानी, अनुसन्धान तथा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो समय विभिन्न जिल्लामा लागू औषधसहित व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दो छ, जसले समस्या अझै गम्भीर रहेको सङ्केत गर्दछ । विशेष गरी नेपाल–भारत खुला सीमाका कारण लागूऔषध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाहरूको भनाइ छ ।
सीमावर्ती क्षेत्रबाट विभिन्न प्रकारका लागूऔषध नेपाल भित्रिने र यहाँबाट अन्यत्र लैजाने गतिविधि हुने गरेको पाइएको छ । यसले सुरक्षा निकायलाई थप सतर्क र सक्रिय बन्नुपर्ने अवस्था सिर्जना गरेको छ । विज्ञहरूका अनुसार लागूऔषधको कुलतमा फसेका व्यक्तिलाई सुधार गरेर सामान्य जीवनमा फर्काउन निकै कठिन हुने भएकाले रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो । त्यसका लागि परिवार, विद्यालय, समुदाय र राज्यका निकायबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ ।
सरकारले लागूऔषध नियन्त्रणका लागि कानुनी व्यवस्था कार्यान्वयन गरिरहेको भए पनि बदलिँदो चुनौतीअनुसार कानुनलाई अझ प्रभावकारी र कडा बनाउनुपर्ने माग उठ्दै आएको छ । साथै, उपचार तथा पुनर्स्थापना केन्द्रहरूको पहुँच विस्तार गरी कुलतमा फसेकाहरूलाई पुनः समाजमा स्थापित गर्ने कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बताइएको छ । लागूऔषधको जोखिमबाट जोगिन युवाहरू बेलैमा सचेत बन्नु आवश्यक छ । सचेत नागरिक, जिम्मेवार परिवार, प्रभावकारी कानुन र सक्रिय सुरक्षा संयन्त्रको संयुक्त प्रयासबाट मात्र लागूऔषध मुक्त समाज निर्माण सम्भव हुने सरोकारवालाहरू बताउँछन् ।
झापामा पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै गए पछि जिल्ला प्रहरी कार्यालयले विभिन्न स्वीप अप्रेसनहरू सञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाले जेठ महिनामा मात्रै लागू औषधसहित ५८ जनालाई पक्राउ गरेको छ । ८५० ग्राम गाँजा, ३०७ ग्राम ८९३ मिलिग्राम ब्राउन सुगर र १६५ मनोद्धिपक चक्कीसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।