२०८३ असार ८ गते , सोमबार

बेलबारीको कपडा उद्योगमा आगलागी, करिब १२ लाखको क्षति

sajilo news
मोरङ
२०८३ असार ८ गते , सोमबार
बेलबारीको कपडा उद्योगमा आगलागी, करिब १२ लाखको क्षति

मोरङको बेलबारी नगरपालिका–१ मा रहेको एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो करिब २ बजेतिर आगलागी भएको हो । प्रहरीका अनुसार टिनको बेरा र टिनको छानो भएको एकतले टहरामा सञ्चालन हुँदै आएको उक्त उद्योगमा आगो लागेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेको थियो । साथै, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट सिरक–डसना बनाउने मेसिन, जेनेरेटर एक थान, रुवाको मेसिन एक थान, ठूलो मात्रामा कच्चा र प्रशोधित रुवा, कपडा तथा तयारी सामग्रीहरू जलेर नष्ट भएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार घटनामा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

सम्बन्धित समाचार