बाह्रदशी गाउँपालिकाको बजेट ५५ करोड ५१ लाख, आठ वटा विधेयक पेश
जनक राउत । बाह्रदशी
बाह्रदशी गाउँपालिकाको १९औँ गाउँसभा बुधबार उद्घाटन गरिएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ५१ लाख १२ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
गाउँपालिकाको सभा हलमा आयोजित अधिवेशनमा गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईले विकासका विभिन्न योजना समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरे । गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटीले न्यायिक समितिको प्रतिवेदन, विनियोजन विधेयक–२०८३, अर्थ विधेयक–२०८३ तथा प्रस्तावित आय–व्ययसहितको बजेट सभा समक्ष पेश गरिन्।
सभामा सदस्यहरू युवराज ढकाल, प्रकाश अधिकारी, जय तिम्सिना, गङ्गाराम धिताल र मिलन संगौलाले समसामयिक विषयमा धारणा राखेका थिए। वडा नम्बर ४ का अध्यक्ष महताब आलमले शुभकामना मन्तव्य व्यक्त गरेको थियो । साथै, विभिन्न विषयगत समितिहरूका वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो।
गाउँसभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक–२०८३, स्वास्थ्य सेवा सम्बन्धी विधेयक–२०८३, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन कार्यविधि–२०८३, गाउँसभा सचिवालय स्थापना तथा सञ्चालन कार्यविधि–२०८३, व्यवसाय दर्ता सम्बन्धी विधेयक–२०८३, सार्वजनिक–निजी साझेदारी सम्बन्धी विधेयक–२०८३, आन्तरिक नियन्त्रण निर्देशिका–२०८३ तथा बेरुजु फर्छ्योट कार्यविधि–२०८३ गरी आठ वटा विधेयक तथा कार्यविधि प्रस्तुत गरिएको थियो।
कोशी प्रदेश गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३ बमोजिम सञ्चालन गरिएको १९औँ अधिवेशनको अध्यक्षता गाउँपालिका अध्यक्ष चम्लगाईले गरेको सभामा भने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले सभाको सहजीकरण गरेका थिए।