लागूऔषधविरुद्ध प्रहरी अभियान : झापामा एकैदिन ३६ जना पक्राउ
झापा प्रहरीले स्वीप अपरेशन गरी एकैदिन ३६ जना लागूऔषध सेवनकर्ता र कारोबारी पक्राउ गरेको छ । बुधबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका कार्यालयबाट स्वीप अपरेशन गरिएको थियो । त्यस क्रममा प्रहरी टोलीहरूले विभिन्न स्थानहरूमा शङ्कास्पद अवस्थामा हिँडडुल गर्ने लागूऔषध सेवनकर्ताहरू २९ जनालाई पक्राउ गरेका थिए ।
त्यस्तै प्लास्टिकबाहेक १० ग्राम ११८ मिलिग्राम ब्राउन सुगरसहित ७ जना कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए । उनले कारोबारीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य समेत भइरहेको बताए ।
पक्राउ पर्नेहरू अर्जुनधारा नगरपालिका-५ बस्ने ट्याम्पो चालक ५० वर्षीय भरत मोहराको साथबाट प्लास्टिकबाहेक १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । मोहरालाई नियन्त्रणमा लिई उनले चलाएको प्र–१–०१–००२ ह ७८५६ नं. को ट्याम्पोसहित नगद १३ हजार २६० रुपैयाँ बरामद गरिएको छ ।
त्यस्तै कमल गाउँपालिका-७ बस्ने २७ वर्षीय सनम धिमाल र कमल ६ बस्ने २० वर्षीय प्रदीप दासको साथबाट प्लास्टिकबाहेक ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । लागू औषधसहित नियन्त्रणमा लिई उनीहरूले चलाएको प्र–१–०१–०१२ प ६३७९ नं. को मोटरसाइकलसमेत बरामद गरिएको डीएसपी अवाले बताए ।
त्यस्तै हल्दीबारी गाउँपालिका-३ बस्ने प्रितम तामाङको साथबाट प्लास्टिकबाहेक १ ग्राम ३१ मिलिग्राम ,बिर्तामोड नगरपालिका-३ बस्ने २० वर्षीय सुनिल पासवान र सोही ठाउँ बस्ने २१ वर्षीय उदय पासवानको साथबाट प्लास्टिकबाहेक ७९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै इलाम सूर्योदय नगरपालिका- ११ बस्ने ४५ वर्षीय रनधिर प्रधानको साथबाट प्लास्टिकबाहेक १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी अवाले जानकारी दिएका छन् ।