२०८३ असार ११ गते , विहीबार

अर्जुनधाराका सात विपन्न परिवारलाई घर

sajilo news
रासस
२०८३ असार ११ गते , विहीबार
अर्जुनधाराका सात विपन्न परिवारलाई घर

झापा ।  जिल्लाको अर्जुनधारा नगरपालिका–१ का विपन्न तथा आवासविहीन सात परिवारलाई बुधबार घर प्रदान गरिएको छ । गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र यहाँस्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गरिएको हो ।

बुधबार यहाँ आयोजित एक कार्यक्रममा घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले योजना कार्यान्वयनमा ल्याइएको बताए । “विपन्न नगरवासीलाई आवासको हक प्रत्याभूति गराउने उद्देश्यले घर निर्माण गरेर हस्तान्तर गरेका हौँ”, उनले भने ।

हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर राईले निर्धारित समयभित्र मापदण्ड अनुसारको घर निर्माण गरी लक्षित परिवारलाई हस्तान्तरण गरिएको बताए । गरिबी निवारण गर्ने उद्देश्यले वन समूहले नगरपालिकासँग सहकार्य गरेको उल्लेख गर्दै उनले आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

हचुमासा सामुदायिक वन उपभोक्ता समूहबाट रु १० लाख, अर्जुनधारा नगरपालिकाबाट रु १० लाख, जनसहभागिताबाट रु एक लाख तथा श्रमदानबापत रु दुई हजार ८५३ को लगानीमा घर निर्माण गरिएको छ । घरमा बरन्डासहित दुई वटा कोठा र भान्सा रहेका छन् ।

सम्बन्धित समाचार