दुर्घटनामा बालिका मृत्यु प्रकरण : टिपर चालकलाई सवारी ज्यान कसूरमा कारबाही गरिने
बिर्तामोड– ३ बिर्ताबजारमा बालिकालाई मृत्यु हुने गरी ठक्कर दिने टिपर चालकलाई सवारी ज्यान कसूरमा कारबाही गरिने भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा हिजो पीडित पक्ष र टिपर धनीबीच भएको छलफलमा टिपर चालकलाई सवारी ज्यान कसूरमा लापरबाही गरी सवारी चलाएकाले हदैसम्मको कारबाही गर्ने / गराउने कार्यमा सहयोग गर्नेलगायतका तीन बुँदे सहमति भएको हो ।
बिहीबार साँझ ७ बजे बिर्तामोड- ३ बिर्ताबजारको हटियालाईन –अधुवाखोला पुलस्थित भित्री सडक खण्डमा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ न.को टिपरले पैदल यात्री सोही ठाउँ बस्ने किशोरचन्द्र चापागाईँकी छोरी १० वर्षीया अनुकृति चापागाईँलाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याउनसाथ मृत्यु भएको थियो । दुर्घटनापछि टिपर चालक बुद्धशान्ति १ बस्ने ५३ वर्षीय श्यामप्रसाद दाहाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको थियो ।
छलफलमा दुर्घटनापछि घटनास्थलमा आएर पीडितहरूलाई गुन्डागर्दी शैलीमा अभद्र व्यवहार गर्नेलाई पहिचान गरी कानुन बमोजिम कारबाही गर्ने सहमति भएको छ । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले उद्धार गरेर लगिसकेपछि बाउन्सरजस्ता देखिने केही व्यक्तिहरूले घटनास्थलमा आएर पीडितहरूलाई अभद्र व्यवहार गरेका थिए ।
त्यस्तै घटनामा मृत्यु हुने मृतक अनुकृति चापागाईँको हकवालाले कानुन बमोजिम पाउने काजक्रिया खर्च तथा क्षतिपूर्ति रकम बाहेक अन्य राहतको सम्बन्धमा दुवै पक्ष बसेर छलफल गरी आपसी समझदारी अनुसार गर्नेसमेत सहमति भएको छ ।
सहमति पत्रमा मृतक बालिकाका बुवा किशोरचन्द्र चापागाईँ र टिपर धनी हल्दिवारी २ बस्ने जगतबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच सहमति भएपछि बालिकाको शव प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी कनकाई माईमा अन्त्येष्टि गरिएको छ ।