झापामा फेरि २४ जना लागूऔषध प्रयोगकर्ता पक्राउ
स्वीप अपरेशन जारी राखेको झापा प्रहरीले एकैदिन २४ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । हिजो बिहान १० देखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अप्रेसन प्रहरी टोलीले विभिन्न स्थानहरूमा शङ्कास्पद अवस्थामा हिँडडुल गर्ने लागूऔषध सेवनकर्ताहरू २४ जनालाई पक्राउ गरेको हो । हिजो स्वीप अपरेशनका क्रममा कारोबारी पक्राउ नपरेको र लागूऔषध पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य भइरहेको डीएसपी अवाले जानकारी दिए । त्यसको अघिल्लो दिन प्रहरीले ५५ ग्राम ब्राउन सुगरसहित ४९ जनालाई पक्राउ गरेको थियो । लागूऔषधविरुद्धको झापा अभियान सञ्चालन गरिरहेको झापा प्रहरीले लगातार स्वीप अपरेशन गर्दै आएको छ ।