बिर्तामोडको हनुमान कम्प्लेक्समा बलात्कार घटना : मोबाइल बनाउन गएकी थिइन् युवती
बिर्तामोडको मुक्तिचोकमा रहेको हनुमान कम्प्लेक्समा मोबाइल बनाउन आएकी युवतीलाई गएराति कामदारले मोबाइल पसलभित्रै बलात्कार गरेको खुलेको छ ।
हनुमान कम्प्लेक्सको भुइँतलामा अगाडिपट्टि रहेको मोबाइल बनाउने पसलभित्र १८ वर्षीया युवतीमाथि मोबाइल पसलमा काम गर्ने कामदार ३६ वर्षीय बिगेन्द्र शेर्पाले जबरजस्ती करणी गरेको खुलेको हो । ती युवतीले दुई दिनअघि दुईवटा मोबाइल बनाउन दिएकी थिइन् । आफ्नो मोबाइल लिन आउँदा युवतीमाथि सो घटना भएको जनाइएको छ । राति करिब ९ बजे ती युवतीलाई शेर्पाले जबरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी दिएकी थिइन्।
प्रहरी टोलीले इलाम पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका शेर्पालाई आज बिहान नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका शेर्पामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनापछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। त्यसपछि आज बिहान पीडितलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। राति ९ बजे नै पसलभित्र युवतीमाथि जबरजस्ती करणी भइरहँदा हनुमान कम्प्लेक्सका अन्य पसल सञ्चालक र सुरक्षा गार्डले थाहा नपाउनु आश्चर्यजनक भएको भन्दै सर्वसाधारण ग्राहकले कम्प्लेक्सको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएका छन् ।
यसैबीच प्रतिनिधि सभाका सांसद निता घतानीले सो घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले बिर्तामोडस्थित हनुमान कम्प्लेक्स मार्केटमा १८ वर्षीया एक युवतीमाथि भएको बलात्कारको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताइन् ।
यस्तो जघन्य अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको जानकारी आएको बताउँदै उनले सभामुखको ध्यानाकर्षण गराउँदै भनिन् ,‘यो केवल एउटा आपराधिक घटना मात्र होइन, हाम्रो समाजमा महिला तथा बालिकाको सुरक्षामाथि गम्भीर प्रश्न हो।’ उनले पीडितलाई आवश्यक स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र कानुनी सहायता उपलब्ध गराउन मागसमेत गरिन् ।
उनले सार्वजनिक स्थल, बजार र व्यावसायिक क्षेत्रमा सुरक्षा व्यवस्था, सीसीटीभी निगरानी र नियमित प्रहरी गस्ती प्रभावकारी बनाउन,महिला तथा बालिकाविरुद्ध हुने यौन हिंसा रोक्नका लागि विद्यालय, समुदाय र कार्यस्थलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेकी छन् । यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै दोषीलाई कानुनको कठघरामा उभ्याउन कुनै कसर बाँकी नराखोस् भन्दै सांसद घतानीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।