२०८३ असार १५ गते , सोमबार

झापाका २० जना नगर प्रहरीलाई विपद् सम्बन्धी तालिम

sajilo news
झापा
२०८३ असार १५ गते , सोमबार
झापाका २० जना नगर प्रहरीलाई विपद् सम्बन्धी तालिम

झापाका नगर प्रहरीहरूले विपद् सम्बन्धी तालिम लिएका छन् । असार ९ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हे.क्वा झापामा सञ्चालन भएको सात दिने तालिम आज सम्पन्न भएको हो । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य तथा सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजनामा “समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम” सञ्चालन गरिएको थियो ।

झापा जिल्लाका पाँच वटा नगरपालिका भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाबाट चार/चार जनाका दरले २० जना नगर प्रहरीहरूलाई विपद् व्यवस्थापनको परिचय, परिदृश्य तथा कानुनी व्यवस्था, विपद् स्वयंसेवक गठन र परिचालन, विपद् जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका, बाढी पहिरो तथा पानीजन्य बिपदमा खोज उद्धार विधि, भूकम्प, चट्याङ तथा आँधीबेहरी, सडक दुर्घटना सम्बन्धी सचेतना, भत्केका संरचनामा खोज तथा उद्धार, गाँठोको प्रकार, प्रयोग विधि तथा डोरीको सहायतामा गरिने उद्धार, पानीमा गरिने उद्धार, आगलागी नियन्त्रण तथा अग्नीयन्त्रको प्रयोग विधि, प्राथमिक उपचार, सीपीआर र एमएफआर सम्बन्धी आधारभूत ज्ञान लगायतका विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरी ज्ञान दिइएको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए ।

तालिमको समापन कार्यक्रम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको आतिथ्यमा भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, सशस्त्र प्रहरी नायव उपरीक्षकहरू, निरीक्षकहरू, जुनियर अधिकृतहरू, प्रशिक्षकहरू, प्रशिक्षार्थीहरू तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि पोखरेलले विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । उनले यस्ता कार्यक्रमले समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तालिम सफलतापूर्वक सञ्चालन गर्न योगदान पुर्‍याउने प्रशिक्षकहरूलाई प्रमुख अतिथिबाट प्रशंसा–पत्र प्रदान गरिएको थियो। त्यसैगरी तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीद्वारा प्रमाण–पत्र वितरण गरिएको थियो। सशस्त्र प्रहरी बल, नेपालले समुदायको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यले यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

सम्बन्धित समाचार