२०८३ असार १५ गते , सोमबार

झापामा मापसे र लापसे गर्ने ७ चालक पक्राउ

sajilo news
झापा
२०८३ असार १५ गते , सोमबार
झापामा मापसे र लापसे गर्ने ७ चालक पक्राउ

झापामा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गको कालीखोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोस्ट बुधबारे, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा लागूपदार्थ सेवन तथा मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो ।

दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ट्याक्टरका गरी २ सय सवारी साधनका चालकहरूलाई ब्रेथलाइजरद्वारा चेकजाँच गर्दा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेको पाइएको थियो । त्यस्तै शङ्का लागेका २९ जना चालकहरूको लागूपदार्थ सेवन किटमार्फत चेकजाँच गर्दा दुईजना चालकहरूले लागू औषध सेवन गरेको पाइएको थियो ।

लागूपदार्थ सेवन गरेको पुष्टि भएका चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

उनले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नको लागि दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ट्याक्टरका चालकहरूको स्वास्थ्य परीक्षण, लागूपदार्थ सेवन तथा मादक पदार्थ सेवन चेकजाँच कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार