२०८३ असार १८ गते , विहीबार

झापामा फरार प्रतिवादी पक्राउ अभियान : पाँच जनामध्ये दुई कारागार चलान

sajilo news
झापा
२०८३ असार १७ गते , बुधबार
झापामा फरार प्रतिवादी पक्राउ अभियान : पाँच जनामध्ये दुई कारागार चलान

झापा । झापा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय झापाले फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको छ। पक्राउ परेकामध्ये तीन जनाले अदालतले तोकेको जरिवाना बुझाएर छुटेका छन् भने दुई जनालाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधवार दिउँसो ३ः३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले फरार प्रतिवादीहरूलाई उनीहरूकै घरबाट पक्राउ गरेको हो। पक्राउ परेकामध्ये झापा गाउँपालिका–४ निवासी ४७ वर्षीय अब्दुल हकिम मिया सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतको २०८२ असार २२ गतेको फैसलाअनुसार तीन महिना कैद र २०० रुपैयाँ जरिवानाका फरार प्रतिवादी थिए। अदालतमा उपस्थित भएपछि उनले तोकिएको रकम बुझाएर छुटेका छन्। त्यस्तै, मेचीनगर–३ निवासी २६ वर्षीय अनिल दनुवार लागू औषध मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना सजायका फरार प्रतिवादी थिए। उनी पनि अदालतमा उपस्थित भई जरिवाना तिरेर छुटेका छन्। 

कनकाई नगरपालिका–४ निवासी २९ वर्षीय नवीन रसाइली लागू औषध मुद्दाका फरार प्रतिवादी थिए। अदालतमा उपस्थित भएपछि उनले तोकिएको प्रक्रिया पूरा गरी छुटेका छन्। त्यसैगरी कमल गाउँपालिका–५ निवासी २३ वर्षीय मनिष मगर लागू औषध मुद्दामा नौ महिना २० दिन कैद सजायका फरार प्रतिवादी थिए। अदालतमा उपस्थित गराइएपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। यस्तै, इलामको चुलाचुली गाउँपालिका–५ निवासी ३० वर्षीय लक्ष्मण फागो सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद तथा दुई हजार रुपैयाँ जरिवाना सजायका फरार प्रतिवादी थिए। उनलाई पनि सम्बन्धित अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ।

सम्बन्धित समाचार