कोशी–पाथीभरा इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ५ लाख ४१ हजार घाटा
भद्रपुर । झापाको भद्रपुर क्रिकेट क्लबद्वारा आयोजित कोशी–पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको आयव्यय सार्वजनिक गरिएको छ । क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै गत माघ २१ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट करिब ५ लाख ४१ हजार रुपैयाँ घाटा भएको क्लबका कोषाध्यक्ष क्षितिज खवासले जानकारी दिए । प्रतियोगिताको आम्दानी–खर्च विवरणअनुसार कुल ७४ लाख ८० हजार ६४२ रुपैयाँ आम्दानी भएको थियो।
आम्दानीमध्ये विज्ञापनबाट ६ लाख ३९ हजार रुपैयाँ, दाता सहयोगबाट २१ लाख २१ हजार ६५० रुपैयाँ र प्रायोजन ९स्पोन्सरशिप०बाट ४७ लाख १९ हजार ९९२ रुपैयाँ संकलन भएकोमा प्रतियोगिता सञ्चालन तथा प्रशासनिक शीर्षकमा कुल ८० लाख २१ हजार ६७२ रुपैयाँ खर्च भएको उनले बताए । प्रतियोगितामा आम्दानी भन्दा ५ लाख ४१ हजार ३० रुपैयाँ खर्च बढी देखिएको र दाताबाट केही रकम अझै उठ्न बाँकी रहेको उनको भनाई छ ।
खर्चतर्फ सबैभन्दा बढी खाना तथा आवासमा १६ लाख ८४ हजार ९४० रुपैयाँ, मैदान तथा ग्राउन्ड व्यवस्थापनमा १० लाख ३६ हजार २४० रुपैयाँ, पुरस्कार रकम तथा ट्रफीमा ११ लाख ९० हजार ४०० रुपैयाँ र टेलिभिजन प्रसारणमा ७ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
यस्तै, अम्पायर तथा अन्य शुल्कमा ५ लाख ७२ हजार २०० रुपैयाँ, घरेलु टोली खर्चमा ६ लाख ५६ हजार २५० रुपैयाँ, टोली सहभागिता खर्चमा ५ लाख ९८ हजार ९०० रुपैयाँ, छपाइमा ५ लाख २ हजार ५६ रुपैयाँ, पेभिलियन तथा प्यारापेट निर्माणमा २ लाख ३२ हजार रुपैयाँ, साउन्ड तथा जेनेरेटरमा ९४ हजार ५०० रुपैयाँ, ब्याट तथा बलमा ९१ हजार ९०० रुपैयाँ, बाउन्ड्री वेजमा १ लाख ४२ हजार ६० रुपैयाँ, स्कोरबोर्डमा ५० हजार रुपैयाँ, यातायातमा ४८ हजार ८०० रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको आयव्ययमा उल्लेख गरिएको छ। त्यस्तै प्रशासनिक खर्चतर्फ ३ लाख ८३ हजार ८९१ रुपैयाँ खर्च भएको छ। यसमा कार्यालय खर्च, इन्धन तथा यातायात, प्रचार–प्रसार, अतिथि सत्कार, बैंक शुल्क र स–साना विविध खर्च समावेश छन् । सार्वजनिक गरिएको विवरणले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपनि आर्थिक रूपमा घाटा व्यहोर्नुपरेको क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक गौरव सुब्बा ९मनोज०ले जानकारी दिए । भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशाला कोशी प्रदेशकै उत्कृष्ट रंगशाला बनाउन हामी लागि परेको उपाध्यक्ष सुब्बाको भनाई छ ।
\कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरी रङ्गशालालाई यहाँसम्म ल्याइपुर्याएको बताउँदै उनले भने, खेलाडीका लागि सुविधा सम्पन्न पेभिलियन निर्माणाधीन अवस्थामा छ, यसका लागि स्थानीय सरकारसँग बजेट माग गरेका छौँ । प्रदेश सरकारले पनि फ्लड लाइट जडानका लागि डेढ करोड बजेट छुट्टाएको छ । आगामी दिनमा अन्तराष्टियस्तरको प्रतियोगिता गराउनु नै मुख्य उद्देश्य रहेको उनको भनाई छ । त्यस्तै काँसघारीमा परिणत भएको क्रिकेट मैदानलाई यहाँ सम्म ल्याउन सहयोग पुर्याउने हुने सबैलाई क्लबका अध्यक्ष आदित्य पराजुलीले धन्यवाद दिएका छन् ।
यो क्रिकेट रंगशाला भद्रपुरको पहिचान हो, यसको संरक्षण र प्रवर्धनमा हामी सबै जुट्नुपर्छ, उनले थपे । त्यसैगरी भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलका अनुसार व्यापार व्यवसाय बढाउने एउटा माध्यम खेलकुद क्षेत्र पनि हो । क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि नगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको उनले बताए । नगरपालिकाले छिट्टै क्लबसँग सम्झौता गरी यहाँ क्रिकेट एकाडेमी सञ्चालन गरी खेलाडी उत्पादनलाई प्रोत्साहन गर्ने उनको भनाई छ ।