२०८३ असार २० गते , शनिबार

कनकाई नदीको कटान तीव्र, झापा गाउँपालिकाका स्थानीयमा त्रास

sajilo news
झापा
२०८३ असार १९ गते , शुक्रबार
कनकाई नदीको कटान तीव्र, झापा गाउँपालिकाका स्थानीयमा त्रास

झापा गाउँपालिका वडा नं. १ र २ अन्तर्गत कुवाडी बजार पश्चिमपट्टि बग्ने कनकाई नदीले बाँधमा तीव्र रूपमा कटान गर्न थालेपछि कुवाडी, सडकवारी र मिलनबस्तीका स्थानीयवासीमा त्रास फैलिएको छ।

बाँध फुट्ने जोखिम बढ्दै गएपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदीको कटान निरन्तर भइरहेकाले विशेषगरी नदी किनारमा बसोबास गर्ने परिवारलाई आवश्यक सावधानी अपनाउन, अनावश्यक रूपमा नदी किनारमा आवतजावत नगर्न तथा बालबालिकालाई नदी आसपास खेल्न वा जान नदिन अनुरोध गरिएको छ। स्थानीयवासीलाई अपवाहमा नलागी आधिकारिक सूचनाको पालना गर्दै सुरक्षित रहन पनि आग्रह गरिएको छ।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जनताको जीउधनको सुरक्षा पालिकाको पहिलो प्राथमिकता रहेको बताउँदै त्यसका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताएकी छन् । उनले नदीको बहावलाई नियन्त्रण गर्न मुहान फर्काउने प्रयास भइरहेको जानकारी दिँदै आवश्यक एक्साभेटर परिचालनका लागि कनकाई नगरपालिकासँग समन्वय भइरहेको बताइन्।

यता, सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी (जनपद) र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बाँध क्षेत्रमा निरन्तर खटिएका छन्। उनीहरूले नदीको अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन् भने आवश्यक परे तत्काल उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा रहेका छन्।

वडा नं. २ का अध्यक्ष हिमालकुमार चम्लागाईँले केन्द्र सरकारले समयमै नदी नियन्त्रणको ठेक्का प्रक्रिया अघि नबढाउँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको बताए। उनका अनुसार वर्षात् सुरु हुनुभन्दा एक–दुई महिना अगाडि मात्रै ठेक्का लगाइने परिपाटीका कारण निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा हरेक वर्ष वर्षायाममा स्थानीयवासी जोखिममा पर्ने गरेका छन्।

यसैबीच, कटानको जोखिम अझ बढ्दै गएको महसुस भएमा वा कुनै आपत्‌कालीन अवस्था देखिएमा सम्बन्धित वडा कार्यालय, सुरक्षा निकाय वा स्थानीय जनप्रतिनिधिलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षा निकायले सबै नागरिकलाई संयमता अपनाउन, सतर्क रहन र सम्भावित विपद्बाट आफू तथा समुदायको सुरक्षा गर्न सहयोग गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार