२०८३ असार २० गते , शनिबार

भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी बन्दै

sajilo news
पार्थ मण्डल
२०८३ असार २० गते , शनिबार
भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी बन्दै

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल र भद्रपुर नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको शुक्रबार नगरपालिकाले वार्षिक समीक्षा बैठक गर्दै कार्यक्रमबाट प्राप्त उपलब्धि सार्वजनिक गरेको हो।
समीक्षाअनुसार हालसम्म नगरपालिकामा १,०२२ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका छन् । राष्ट्रिय जनगणनाअनुसार नगरमा १,६३१ जना अपाङ्गता भएका व्यक्ति रहेकामा ६०३ जनासम्म अझै परिचयपत्रको पहुँच पुग्न बाँकी रहेको नगरपालिकाले जनाएको छ। बसाइँसराइ तथा आवश्यक कागजात अभावका कारण केही व्यक्तिले परिचयपत्र प्राप्त गर्न नसकेको सामाजिक विकास शाखाका प्रमुख जीवनकला राउतले जानकारी दिइन् । 
उनका अनुसार गत आर्थिक वर्षमा जन्मजात अपाङ्गता पहिचानका लागि १,२५५ नवजात शिशुको स्क्रिनिङ गरेको छ, जुन लक्ष्यभन्दा १२१ प्रतिशत बढी हो। विद्यालय स्वास्थ्य परीक्षणमार्फत ४,७५० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने ७४ जनामा जटिलता पहिचान गरिएको थियो। तीमध्ये ५० जनाले उपचार सेवा प्राप्त गरेका छन्।
पुनर्स्थापना कार्यक्रमअन्तर्गत ७१९ जना अपाङ्गता भएका व्यक्तिको प्रोफाइल तयार गरिएको । ७५६ वटा घरभेट गरिएको तथा १५४ थान सहायक सामग्री खरिद गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य उपचार सेवा ५७ जनाले प्राप्त गरेका छन् भने ४८ जनाले सीपमूलक तालिम लिएका छन्।
समीक्षाअनुसार हाल नगरपालिकामा शारीरिक अपाङ्गता भएका ४०३, सुनाइसम्बन्धी १९७, बहुअपाङ्गता भएका १५७, मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ८४, दृष्टिसम्बन्धी ७३, बौद्धिक अपाङ्गता भएका ७० लगायत गरी कुल १,०२२ जना परिचयपत्रधारी अपाङ्गता भएका व्यक्ति रहेका छन्।
कार्यक्रम सञ्चालनका क्रममा सीपमूलक तालिमका लागि नगरबाहिर जान अपाङ्गता भएका व्यक्तिलाई कठिनाइ हुनु, आवश्यक कागजात उपलब्ध नहुनु, स्वास्थ्य बीमाको पहुँच सीमित हुनु तथा बाढीका कारण महत्त्वपूर्ण कागजात क्षति पुग्नुजस्ता चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ। यस्ता समस्याको समाधानका लागि निरन्तर समन्वय र छलफललाई प्राथमिकता दिइएको शाखा प्रमुख राउतले बताइन् । 
नगरपालिकाले कार्यक्रमअन्तर्गत केही उल्लेखनीय सफलता पनि हासिल गरेको जनाएको छ। घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण, अस्पतालसम्म पुग्न नसक्ने व्यक्तिलाई स्वास्थ्य सेवामा पहुँच, जन्मदोष पहिचान कार्यक्रमको सुरुवात तथा अटिजम केयर सेन्टर सञ्चालनको पूर्वतयारीलाई यस वर्षका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाकी उपप्रमुख तथा स्थानीय अपाङ्गता समन्वय समितिका संयोजक राधा कार्कीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै उनीहरूको क्षमता विकास, आत्मनिर्भरता र सम्मानजनक जीवनयापनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। साथै, सरोकारवाला सबै पक्षको सहकार्यबाट समावेशी समाज निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष अभिषेक ढुङ्गाना, राष्ट्रिय अपाङ्ग महासंघका सदस्य धनजुजु श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्दै अपाङ्गता भएका व्यक्तिका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा विभिन्न समस्या देखिएको उल्लेख गरे। उनीहरूले बजेट तथा कार्यक्रमलाई छिटोछरितो, प्रभावकारी र लक्षित वर्गमै पुग्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन सामाजिक शाखाकी सञ्जु कोइराला र नरेन्द्र प्रधानले संयुक्त रुपमा गरेका थिए । 

सम्बन्धित समाचार