२०८३ असार २० गते , शनिबार

एसियन हाइवे : काँकडभिट्टा–लौकही सडकको सम्झौता सकिन ३ महिना बाँकी, काम आधा पनि भएन

sajilo news
झापा
२०८३ असार २० गते , शनिबार
एसियन हाइवे : काँकडभिट्टा–लौकही सडकको सम्झौता सकिन ३ महिना बाँकी, काम आधा पनि भएन

झापा । एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डको सम्झौता सकिन ३ महिना मात्र बाँकी छ । तीन महिना बाँकी रहँदा अहिले सम्म सडक निर्माणको काम आधा पनि सकिएको छैन ।

तीन वर्षे ठेक्का सम्झौता अनुसार दुई वर्ष ९ महिना बितिसक्दा मात्र ४६ प्रतिशत मात्र काम पूरा भएको जनाइएको छ । काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक खण्डमा अहिलेसम्म दुवैतर्फ मात्र १४ किलोमिटर सडक कालोपत्रे भएको छ ।

सडक निर्माणको गति सुस्त भइरहँदा पुलको काम अझ कम मात्रामा भएको छ । ठूला पुलहरू कनकाई , बिरिङ र निन्दाको भौतिक प्रगति २७ प्रतिशत भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ । निन्दा, बिरिङ, कनकाई पुलको प्याकेज ४ को प्रगति २७ प्रतिशत भएको हो । यो प्याकेजमा स्टिल आर्कको स्ट्रक्चर सेप्टेम्बर महिनाबाट शुरु गरिने पूर्वी खण्डले जनाएको छ । पुलहरूमा प्रिकास्ट ग्रिडरहरु क्रेनले लन्चिङ गर्ने कार्य भइरहेको जनाइएको छ ।

काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरूले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए ।

पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का लगाइएको थियो भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीन वटा पुलहरू निन्दा , बिरिङ र कनकाईको ठेक्का लगाइएको थियो । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीन वटा पुलको ठेक्का पाएका हुन् । दुवै ठेक्काको सम्झौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको छ ।

सम्बन्धित समाचार