केचना–कञ्चनजंघा पर्यटन विकास समितिको सदस्यमा भद्रपुर नगर प्रमुख पोखरेल नियुक्त
भद्रपुर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको केचना–कञ्चनजंघा पर्यटन विकास समितिको सदस्यमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल नियुक्त भएका छन्।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार नगर प्रमुख पोखरेललाई समितिको सदस्यमा नियुक्त गरिएको हो। मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेद्वारा हस्ताक्षरित असार ११ गतेको पत्रमार्फत नियुक्तिसम्बन्धी जानकारी गराइएको छ।
केचनादेखि कञ्चनजंघासम्म फैलिएको पर्यटन क्षेत्रको समग्र विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधारको विस्तार तथा स्थानीय, आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले गठन गरिएको समितिमा स्थानीय तहको प्रतिनिधित्व गर्दै नगर प्रमुख पोखरेलले भूमिका निर्वाह गर्नेछन्।
उनको नियुक्तिले झापा जिल्लासहित पूर्वी नेपालको पर्यटन प्रवर्द्धन, स्थानीय पर्यटन गन्तव्यको विकास तथा प्रदेश सरकार र स्थानीय तहबीच पर्यटन क्षेत्रको समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।