२०८३ असार २२ गते , सोमबार

झापामा हराएका मोबाइल मुस्किलले भेटिन्छन्

sajilo news
झापा
२०८३ असार २२ गते , सोमबार
झापामा हराएका मोबाइल मुस्किलले भेटिन्छन्

झापामा हराउने तथा चोरी हुने मोबाइल फोनको सङ्ख्या बढ्दै गए पनि फेला पर्ने दर भने निकै न्यून देखिएको छ । मोबाइल हराए, चोरी भए वा लुटिएमा हतपत नभेटिने गरेको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाभर हराएका तथा चोरी भएका ५१८ वटा मोबाइलमध्ये ९७ वटा मात्रै प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रञ्जन अवाका अनुसार बरामद भएका ९७ मोबाइलमध्ये ९५ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । मोबाइल चोरीमा संलग्न १५ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापामा हराएको वा चोरी भएको भन्दै ८३ वटा निवेदन परेकोमा चार वटा मोबाइल मात्रै फेला परेका छन् । ती मोबाइल सम्बन्धित धनीलाई बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा सबैभन्दा धेरै २३५ वटा मोबाइल हराएको वा चोरी भएको निवेदन दर्ता भएको थियो । त्यसमध्ये ५९ वटा मोबाइल बरामद गरी ५७ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । यस घटनामा संलग्न आठ जना पक्राउ परेका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीमा १५० वटा निवेदन परेकोमा १६ वटा मोबाइल फेला परेका छन् । ती मोबाइल सम्बन्धित धनीलाई बुझाइएको छ भने चोरीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा २० वटा निवेदन परेकोमा नौ वटा मोबाइल बरामद गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । यस प्रकरणमा चार जना पक्राउ परेका छन् । यता इलाका प्रहरी कार्यालय झिलझिलेमा पाँच वटा मोबाइल हराएको निवेदन परेकोमा चार वटा फेला पारिएको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जमा १४ वटा निवेदन परेकोमा चार वटा मोबाइल बरामद गरिएको छ भने इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ११ वटा निवेदनमध्ये एउटा मात्रै मोबाइल फेला परेको प्रहरीले जनाएको छ । काँकडभिट्टामा मोबाइल चोरीमा संलग्न एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चोरी वा हराउने अधिकांश मोबाइल सामसुङ, भिभो, रेडमी, आईफोन तथा अन्य एन्ड्रोइड ब्रान्डका रहेका छन् ।

मोबाइल खोज्न कठिन हुनुका कारणमध्ये कतिपय मोबाइल नेपालमा मोबाइल डिभाइस व्यवस्थापन प्रणाली (एमडीएमएस) मा दर्ता नभएको, आवश्यक विवरण उपलब्ध नहुनु, चोरीपछि मोबाइलमा सिम कार्ड प्रयोग नगरिनु, फोन लामो समयसम्म स्विच अफ रहनु तथा आईएमईआई ट्रेसिङमा मोबाइल सक्रिय नदेखिनु प्रमुख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले मोबाइल चोरी नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको भए पनि नागरिकको असावधानी पनि चोरी बढ्नुको एउटा कारण बनेको जनाएको छ । विशेषगरी गर्मीयाममा झ्याल खुला राख्ने, सार्वजनिक स्थानमा मोबाइलको पर्याप्त सुरक्षा नगर्ने तथा प्रयोग गर्दा सावधानी नअपनाउने प्रवृत्तिका कारण मोबाइल चोरको निशानामा पर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले मोबाइल हराए वा चोरी भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा निवेदन दिन तथा मोबाइलको आईएमईआई नम्बर सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रहरीका अनुसार चोरी, लुटपाट वा पकेटमारी भएका अधिकांश मोबाइल सेटमा सिम कार्ड प्रयोग गरिएका हुँदैनन् । सिम प्रयोग नभए, चोरेर विदेश पु¥याइए वा नेपालभित्रै पार्टपुर्जा निकालेर अर्को फोनमा प्रयोग गरे त्यस्ता फोन भेटिँदैनन् । हराएको मोबाइल सेटमा फोन लागे पनि फोन नउठाइए ट्रयाक गर्न मिल्दैन । मोबाइलमा जीपीएस (लोकेसन) अन राखेको छ भने फाइन्ड माई मोबाइल/डिभाइसमार्फत आफैँले पत्ता लगाउन सकिने जनाइएको छ । मोबाइल फोन चोरी गरे वा चोरीका फोन अनलक गर्न सघाए मुलुकी अपराध संहिता, २०७४ बमोजिम दुईदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

झापा जिल्ला भारतसँगको खुल्ला सिमाना भएकाले पनि केही चोरी गरेका मोबाइलहरू भारतको पानीट्याङ्याकी, सिलिगुढी लगायतका स्थानमा पु¥याएर सस्तो दरमा बेच्ने गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी अवाले एक पटक प्रयोग भइसकेको अर्थात् सेकेन्ड हेण्ड मोबाइल खरिद नगर्न आग्रह गरे । उनले मोबाइल खरिद गर्दा बिल बिजक अनिवार्य रुपमा लिन आग्रह गर्दै चोरीको मोबाइल खरिद गरेमा पक्राउ पर्न सकिने भएकाले सचेत रहन सबैलाई आग्रह गरे ।

प्रहरी नायब उपरीक्षक अवाले मोबाइल मर्मतका लागि आउने मोबाइलको विषयमा बुझेर मात्रै स्क्रिङ लक, तथा अन्य पार्टहरु परिवर्तन गर्न र मर्मतका लागि आउँदा समेत बिलबिजक लाई अनिवार्य गर्न मोबाइल मर्मत सेन्टरहरूलाई आग्रह गरे । उनले चोरीका मोबाइलको मर्मतका नाममा स्वरूप परिवर्तन तथा पार्टपुर्जा परिवर्तन गरेको प्रमाणित भएमा कानुनी कारबाहीमा परिने बताए । कतिपय पीडित मोबाइल हराउँदा के गर्ने भन्ने चिन्तामा हुन्छन् । यदि तपाईँको मोबाइल हराएको छ भने सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गई निवेदन दिन सक्नुहुन्छ ।

मोबाइल खरिद गर्दा तपाईँले पाउनु भएको बक्समा आईएमईआई नम्बर हुन्छ । त्यो नम्बर लिएर प्रहरीसमक्ष पुगेपछि लोकेसन ट्रेसिङको आधारमा तपाईँको मोबाइल भेटिने सम्भावना रहने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार