२०८३ श्रावण ५ गते , मंगलबार

झापामा मापसे र लापसे गरी गाडी चलाउने ५ चालक पक्राउ

sajilo news
झापा
२०८३ असार २४ गते , बुधबार
झापामा मापसे र लापसे गरी गाडी चलाउने ५ चालक पक्राउ

झापामा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने क्रम बढेपछि ट्राफिक प्रहरीले चेकजाँच अभियानलाई कडाइका साथ जारी राखेको छ ।

बिर्तामोड नगरपालिका– ६ मा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँच अभियानमा २०९ सवारी साधनका चालकहरूलाई परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा ५ जना चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसमध्ये एक जनाले मादक पदार्थ पनि सेवन गरेका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा पठाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको समन्वय, इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपालिका, यातायात व्यवस्था कार्यालय बिर्तामोड झापासँगको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा चेकजाँच गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापनको निमित्त भाडामा चल्ने चार पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी साधनका चालक तथा सह–चालकहरूको लागूपदार्थ सेवन, मादक पदार्थ सेवन तथा सवारी साधनहरूको यान्त्रिक चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

यसअघि गत साता झापामा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ परेका थिए । बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गको काली खोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोस्ट बुधबारे, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा लागूपदार्थ र मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो ।

 

सम्बन्धित समाचार