दमकको ज्वेलरी पसलबाट १० तोला सुन चोरी
दमक । झापाको दमकस्थित बेलडाँगी टुको एक सुन पसलको सटर फोरेर ठूलो परिमाणमा सुन चाँदीका गरगहना र चोरी भएको छ । दमक नगरपालिका-३ बेलडाँगी टु स्थित पिप्ले बजारमा रहेको सरस्वती ज्वेलरी रहेको घरको पछाडिबाट ढोका र सटर फोरेर सुनचाँदीका गरगहनासहितका सामग्री चोरी भएको हो । असार २४ गते बिहान ८ बजे पसल खोल्न पुग्दा पसल फोरिएको अवस्थामा भेटिएको सरस्वती ज्वेलरीका सञ्चालक दिल बहादुर दर्नाल विश्वकर्माले बताए ।
सुन पसल चोरीको घटनाको जानकारी पाउन साथ प्रहरी चौकी बाघखोर दमक ३ र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुन पसल चोरीको बिषयमा अनुसन्धान शुरु गरेको छ । दिउँसो सरस्वती ज्वेलरीका सञ्चालक विश्वकर्माले इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिएको कार्यालयका प्रहरी निरीक्षक नविन राईले बताए ।
सरस्वती ज्वेलरीका सञ्चालक दिल बहादुरले दिएको जानकारी अनुसार पसलबाट सुनको नौगेडी १८ पिस, सुनको पेन्डल १८ पिस, सुनको सिक्री र चन्दाहार लगायतका सुनका गहनाहरु अन्दाजी १० तोला सुन र चाँदीको करुवा १ थान, चाँदीको थाल ३ थान,पाउजु लगायतका चाँदीका साामग्री करिव १२ किलो चोरी भएको छिमेकी सुन पसलका सञ्चालक पदम शंकरले बताए।
सरस्वती सुन पसल छेउको अर्को सुन पसलको सुनचाँदीका गरगहना साँझ सोही पसलमा ल्याएर राख्ने गरेका कारण पनि दुवै पसलको सुन चाँदी समेत चोरी भएको दिल बहादुरले बताए। एता पसलको सिसी क्यामेरा पनि मंगलवार बिग्रिएको बुझिएको छ । सरस्वती सुन पसलका सञ्चालकमध्येका अर्का सञ्चालक कुल बहादुर विश्वकर्माले विना विलको सुन चाँदीका सामग्री बेचबिखान गर्न ल्याएमा नजिकेको प्रहरी कार्यालयलाई खबर गरिदिन पनि आग्रह गरेको छ ।