ताप्लेजुङको मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’ लागू गरेको गाउँपालिकाले पालिकाभित्रका ३६ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालय छनोट गरी पुरस्कार प्रदान गर्न लागेको हो ।
उक्त कार्यक्रमअन्तर्गत सिंहदेवी आधारभूत विद्यालय, मेरिङ्देन–२, सान्थाक्रा प्रथम भएको छ । यस्तै, चण्डीडाँडा आधारभूत विद्यालय, मेरिङ्देन–४, लिङ्तेप द्वितीय र पृथ्वी माध्यमिक विद्यालय, खाम्लुङ तृतीय भएको छ ।
छनोट भएका विद्यालयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार बराबरको पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । उक्त पुरस्कार रकम सम्बन्धित विद्यालयको खातामा कर कट्टी गरी पठाइनेछ ।
विद्यालय परिसरलाई आकर्षक, स्वच्छ र हरियाली बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष यूक हा विर हाँगाम् (डम्बर) ले जानकारी दिए । गाउँपालिकाले गठन गरेको मूल्याङ्कन समितिले कार्यविधिमा उल्लेख गरिएका सूचकाङ्कका आधारमा विद्यालयको अनुगमन तथा मूल्याङ्कन गरी अङ्क प्रदान गरेको थियो । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।