मनसुनी प्रणाली सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बिहीबार अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ औसत अवस्थामै रहेकाले देशभर यसको प्रभाव देखिएको हो ।
महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ। राति देशभर अधिकांश स्थानमा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
नदी तथा खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम रहने तथा दैनिक जनजीवन र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।