इलामको रोङमा जिल्लास्तरीय न्यायिक कार्य प्रक्रियाबारे अन्तरक्रिया
इलाम जिल्ला स्तरीय न्यायिक समिति सञ्जालको जिल्ला स्तरीय न्यायिक कार्य प्रक्रियाबारे अन्तरक्रिया बिहीबार रोङ गाउँपालिका इलाममा सम्पन्न भएको छ। कार्यक्रममा न्यायिक कार्यसम्पादन, मेलमिलाप प्रक्रियामा देखिएका चुनौती तथा सुधारका अवसर, समुदायसँगको समन्वय र सञ्जालको भूमिकाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रोङ गाउँपालिका अध्यक्ष मणि कुमार स्याङवोले कृषि, शिक्षा, पशुपालन, स्वास्थ्य लगायतका क्षेत्रहरू सँग पनि मेलमिलापलाई जोड्न सुझाव दिए। उनले भेला हुने, अन्तरक्रिया गर्ने कुरा प्रमुख नरहेको बताउँदै निचोड के निस्किएको हो त्यो नै महत्त्वपूर्ण रहने बताए। अध्यक्ष स्याङ्वोले पीडितले अपेक्षा गरेअनुसार न्यायमा सहज पहुँच उपलब्ध गराउन सञ्जालले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको भएपनि समुदायमा विवाद नै निस्कन नदिने कुरामा न्यायिक समितिले काम गर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा विशेष अतिथिहरू सूर्योदय नगरपालिका कार्यवाहक प्रमुख दुर्गा बराल, इलाम नगरपालिका उपप्रमुख विष्णु लिम्बु दाहाल, माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु लावती, माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राई लगायतले एउटा पालिकामा भएका सफल अभ्यासहरू अन्य पालिकाका लागि मार्गदर्शन बन्नु सकारात्मक पक्ष भएको बताउँदै न्यायिक प्रक्रिया निष्पक्ष, पारदर्शी र नागरिकमैत्री भएको बताएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदाशले प्रहरीमा आउने जाहेरीका प्रकृतिको बारेमा जानकारी दिए।
कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता मन कुमार बराइलीले सञ्जालको काम, कर्तव्य र औचित्यबारे प्रस्ट पार्दै जिल्ला स्तरीय न्यायिक सञ्जालले न्याय निरूपणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । मानव अधिकार मञ्च नेपाल इलामका निर्देशक देवेन्द्र विश्वकर्माले मेलमिलाप प्रक्रियामा मानव अधिकार मञ्च नेपाल सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा माङसेबुङ गाउँ पालिका बाहेक इलामका ९ वटै स्थानीय तहका उपप्रमुख उपाध्यक्ष, न्यायिक समितिका संयोजक तथा सदस्य, उजुरी प्रशासक, मेलमिलापकर्ता तथा सरोकारवालाहरू सहभागी थिए। कार्यक्रममा न्यायिक समिति सञ्जाल इलामको अध्यक्षता हस्तान्तरणसमेत गरिएको थियो। आगामी तीन महिनाका लागि रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले देउमाई नगरपालिकाका उपप्रमुख पविमाया राईलाई नयाँ अध्यक्षको जिम्मेवारी प्रदान गरेका थिए ।
बैठकका सहभागीहरूले स्थानीय तहमा देखिने विवाद, मनमुटाब र वैमनस्यताका मुद्दाहरूलाई शान्त, न्यायपूर्ण र सहमतिको आधारमा टुङ्ग्याउन मेलमिलापकर्ताहरूले दोहोरो पक्ष सुन्ने, समान व्यवहार गर्ने र निष्पक्षता कायम राख्ने भूमिकालाई अझै मजबुत बनाउनुपर्नेमा एकमत जनाए।
न्यायिक समिति सञ्जालको बैठक प्रत्येक तीन महिनामा अलग–अलग पालिकामा गर्दै आइएको छ। सूर्योदय नगरपालिकाबाट सुरु भएको बैठक इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माई नगरपालिका, फाकफोकथुम, चुलाचुली, माङसेबुङ हुँदै ८ औ रोङ गाउँपालिकामा सम्पन्न गरिएको हो। आगामी बैठक असोजमा देउमाई नगरपालिकामा गर्ने प्रस्ताव गरिएको छ।
कार्यक्रम रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासको अध्यक्षता, गाउँपालिका अध्यक्ष मणि कुमार स्याङ्वोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन रोङ गाउँपालिका कर्मचारी अमिस भुजेल र स्वागत मन्तव्य न्यायिक समिति सदस्य बलबहादुर तामाङले राखेका थिए । रोङ गाउँपालिकाले सहभागी ६० जना भन्दा बढीलाई रोङ गाउँपालिकाको उत्पादन रहेको गुन्द्रुक,हातेचिया पत्ति र करेलाको सुकुटी उपहार प्रदान गरिएको थियो।