तस्करसँग ‘मिलेमतो’ देखिएपछि झापामा कार्यरत मगरसहित पाँच जनामाथि छानबिन !
सीमा सुरक्षामा खटिँदै आएका केही सशस्त्र प्रहरी कर्मचारी आर्थिक अनियमिततामा जोडिएपछि आन्तरिक छानबिन शुरू भएको छ । गएको असार १० गते झापास्थित ३८ नम्बर रिजर्भ गणका सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरको कार्यशैलीको विषयमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलको सचिवालयमा गुनासो आयो ।त्यसअघि पनि मगर आर्थिक अनियमिततामा लागेको गुनासो पटक–पटक आएपछि सशस्त्र प्रहरी मुख्यालय छानबिन गर्ने तहसम्म पुग्यो ।
मगरलाई मुख्यालय बोलाइयो । उनको बयानबाट सशस्त्रकै अर्का कर्मचारीको पोल खुल्यो । उनी थिए, सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा प्रशासनमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) गणेश खड्का । खड्का सशस्त्रमा विगतदेखि नै विवादित छवि भएका व्यक्तिका रूपमा चिनिँदै आएका थिए ।
सशस्त्रका तत्कालीन महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालमा उनले सीमा नाकामा दरबन्दी कायम राखेर तस्करबाट राम्रै असुली गरेको चर्चा त्यतिबेलै सशस्त्र प्रहरी बलमा हुन्थ्यो । मुख्यालयले खड्कालाई पनि छानबिनका लागि झिकाइसकेको छ ।
खड्काले परिचालन गर्ने सुनसरीस्थित ४ नम्बर गणका जवान पारस यादव, अर्का जवान सन्तोष बस्नेत र सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण गिरीलाई पनि छानबिनका लागि मुख्यालय भिकाइएको छ ।
बाहिर चर्चामा आएजस्तो गृहमन्त्री सुधन गुरुङ झापा र सुनसरी गएका बेला गुनासो आएर उनीहरूलाई छानबिनका लागि मुख्यालय झिकाइएको होइन । गृहमन्त्री जानुअघि नै सशस्त्र प्रहरी मुख्यालयले उनीहरूमाथि छानबिन गरिरहेको थियो ।
सई खड्काले आफू कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनिष थापाको नजिकको मान्छे भन्दै तस्करसँग हिमचिम बढाई मोटो रकम असुली गर्दै आएको गुनासो सशस्त्र प्रहरी मुख्यालयमा पुगेको छ । मासिक रूपमै प्रत्येक तस्करबाट दुईदेखि तीन लाख असुली गर्दै आएको तथ्य खुलेको छ । छानबिनका क्रममा खड्कासहित तानिएकाहरूको बैंक खातामा ८ देखि १० लाख रुपैयाँसम्म ट्रान्जेक्सन भएको भेटिएको छ ।
सात हजारका गाइगोरु भारत पुर्याएलगत्तै ३० देखि ३५ हजार भारुमा बिक्री गर्ने तस्करका गतिबिधिलाई खड्कासहितले साथ दिएको आरोप छ । शुरूमा तस्करी हुन लागेका गाइगोरु नियन्त्रणमा लिएर भन्सारलाई बुझाइदिने र भन्सारले सस्तोमा लिलाम निकालेपछि तस्करले नै खरिद गर्दै आएको सशस्त्र प्रहरी मुख्यालयको प्रारम्भिक छानबिनबाट खुलेको छ । नेपालको सीमा कटाउने कार्यमा भने खड्कासहितका सशस्त्रका केही सुरक्षाकर्मीको मिलेमतो रहेको देखिन्छ । त्यसमा नेपाल प्रहरीका केही कर्मचारीसमेत संलग्न रहेको बयान खड्काले छानबिन गरिरहेका सशस्त्र मुख्यालयका अधिकृतहरूलाई दएका छन् ।
‘यस्तोसम्म देखियो कि सशस्त्रमा आबद्धहरूले पनि डीआईजीदेखि भन्सार प्रमुख र सीडीओसम्मलाई मासिक बुझाउनुपर्छ भनेर तस्करबाट रकम असुल गरेको देखियो,’ सशस्त्र मुख्यालय उच्च स्रोतले भन्यो, ‘उता प्रहरीले पनि हाकिम र सीडीओसम्मलाई बुझाउनुपर्छ भनेर रकम तस्करबाट लिएको देखियो ।’ सशस्त्र प्रहरीले हाल मुख्यालय झिकाएर छानबिन गरिरहेका सई खड्काले अकुत सम्पत्ति जोडेको देखिएपछि उनीमाथि छानबिन गर्न तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चासो राखेका थिए । तर, आन्तरिक दबाबका कारण अर्यालले कारबाही गरेनन्, बरु अयन्त्रै सरुवा गरिदिएका थिए ।
दुई वर्षअघि मात्रै जागिर छाड्ने मनस्थिति बनाएका सई खड्कालाई संगठनकै तत्कालीन डीआईजी कमल गिरी (हाल अवकाशप्राप्त) ले राजिनामा दिन रोक लगाएका थिए । कोशी प्रदेशमा पुगेका बेला गिरीले नै खड्कालाई आफूसँग राखेर असुली गराएको आरोप छ । हाल खड्काले छानबिनका क्रममा पनि तस्करबाट असुलेको रकम गिरीसम्म पुग्ने गरेको स्वीकारेका छन् ।
‘पहिला हाकिमहरूले जोगाउँछन् भनेर असुली धन्दाका बारेमा छानबिनमा रहेका कर्मचारी बोल्न मानेनन्, अब कसैले पनि जोगाउनेवाला छैन भनेर होला, धमाधम विगतमा पैसा बुझ्ने गरेका हाकिमहरूको नाम पोलिरहेका छन्,’ सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो, ‘लागूऔषध तस्करसँग मिलेमतो गरेर समेत पैसा असुली हुने गरेको तथ्य अहिले खुल्दैछ ।’ केही दिनअघि मात्रै भारतीय प्रहरीले बरामद गरेको गाँजा र चरेश नाका कटाउन सशस्त्र प्रहरीकै केही कर्मचारीको मिलेमतो रहेको आशंकामा छानबिन चलिरहेको छ ।उक्त गाँजा र चरेश सीमा नाका कटाइदिएबापत तस्करसँग ३० लाख रुपैयाँको डिल गरेको आशंकामा छानबिन भइरहेको मुख्यालय स्रोत बताउँछ । यो समाचार सुवास गोतामेले लोकान्तरमा लेखेका छन् ।