२०८३ असार २९ गते , सोमबार

भद्रपुर पुस्तकालय पुनर्जीवन अभियान सुरु, चिन्तामणि दाहालको नेतृत्वमा समिति गठन

sajilo news
झापा
२०८३ असार २८ गते , आईतबार
भद्रपुर पुस्तकालय पुनर्जीवन अभियान सुरु, चिन्तामणि दाहालको नेतृत्वमा समिति गठन

झापाको भद्रपुरस्थित ऐतिहासिक धरोहर भद्रपुर पुस्तकालयको पुनः सञ्चालन तथा जीर्ण अवस्थामा रहेको पुस्तकालय भवनको पुनःसंरचनाका लागि सेवा निवृत्त सह प्राध्यापक चिन्तामणि दाहालको संयोजकत्वमा समिति गठन गरिएको छ।

प्रेस क्लब भद्रपुरको पहलमा शनिवार भद्रपुर–८, सगरमाथा चोकस्थित डे–ग्लोको सभाकक्षमा आयोजित आमभेलाले उक्त समिति गठन गरेको हो। क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन्न भेलाले बढीमा नौ सदस्यीय समिति रहने निर्णय गरेको छ। समितिले आवश्यकताअनुसार सल्लाहकार र संरक्षकसमेत मनोनयन गर्न सक्ने संयोजक दाहालले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले नगरपालिकाले यस आर्थिक वर्षको बजेटमै पुस्तकालय पुनःसञ्चालनका लागि केही रकम विनियोजन गरेको उल्लेख गर्दै पुनर्जीवन अभियानलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उपप्रमुख राधा कार्की, वडा नं. ८ का अध्यक्ष गौरव सुब्बा, वडा नं. ७ का अध्यक्ष अभिषेक ढुंगाना तथा वडा नं. ५ का अध्यक्ष बन्धु कार्कीले ऐतिहासिक महत्त्व बोकेको पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताए।

भेलामा पुस्तकालयका पूर्वअध्यक्ष हुलासचन्द सरिया, जग्गादाता परिवारका प्रतिनिधि तथा झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता, उद्योग संघका निवर्तमान अध्यक्ष यमबहादुर श्रेष्ठ, तत्कालीन चन्द्रगढी गाविस अध्यक्ष दुर्गा भट्टराई, प्राडा पृथ्वीविक्रम राई, नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, पुस्तकालयका पूर्वकर्मचारी रमेश भुर्तेल, समाजसेवी यशोदा कोइराला, गुरुकुलकी अध्यक्ष शान्ता बराल तथा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईलगायतले ऐतिहासिक पुस्तकालयको पुनःसंरचना र नियमित सञ्चालन अपरिहार्य भएको धारणा राखेका थिए । 

कार्यक्रममा प्रेस क्लब भद्रपुरका सचिव द्रोण अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोपाल गिरी र डिल्लीरमण नेपालले संयुक्त रूपमा गरेका थिए । 

सम्बन्धित समाचार