२०८३ असार २९ गते , सोमबार

फुटबल विश्वकप हेर्दै गर्दा विवाद भएपछि साथीको हत्या !

sajilo news
झापा
२०८३ असार २८ गते , आईतबार
फुटबल विश्वकप हेर्दै गर्दा विवाद भएपछि साथीको हत्या !

बिहीबार राति फ्रान्स र मोरक्कोको विश्वकप हेर्दै गर्दा विवाद भएर दमकमा एकजनाको हत्या भएको खुलेको छ । कोठामा बसेर बियर खाँदै चारजनाले फ्रान्स र मोरक्कोबीचको खेल शुक्रवार बिहानसम्म हेरेका थिए । फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । खेल हेर्ने क्रममा विवाद भएर छुरा प्रहारबाट एकजनाको मृत्यु भएको आशङ्का गरिएको हो ।

दमक नगरपालिका २ हिमालय माध्यमिक विद्यालय छेउमा भारत लखनउ बस्ने अन्दाजी ३५ वर्षीय साहिल कान्त र सोही ठाउँ बस्ने मोहम्मद सोनु भन्ने सहवाज हुसेनबिच विवाद भएको थियो । विवादका क्रममा छुरा प्रहार हुँदा साहिल कान्तको घाँटीमा गम्भीर चोट लागेको थियो ।

घटना बिहान ४ बजेतिर भएपनि प्रहरीले बिहान ५;३० बजे मात्र खबर पाएको थियो । बिहान ५ बजेतिर ठूलो आवाज आएपछि हेर्न जाँदा घरधनीले साहिल कान्तलाई रगताम्य फेला पारेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारको क्रममा बिहान ६;३० बजे घाइतेको मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने मोहम्मद सोनु भन्ने सहवाज हुसेन फरार रहेका छन् । उनको खोजतलास भइरहेको जनाइएको छ । अन्य दुई जनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । उनीहरू बसेको ठाउँमा १० वटा जति बियरको बोतल भेटिएको थियो । बियर खाँदै विश्वकप हेर्दा विवाद भएर सो घटना भएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।

भारतबाट आएर दमकमा डेरा लिएर बसेका उनीहरूले दमकस्थित डेरी उद्योगमा काम गर्ने गरेको बताएका थिए । तर, उनीहरू काम गर्ने डेरीको बारेमा थाहा हुन सकेको छैन ।

यसअघि एनएमसी सहकारीको डेरीमा काम गर्ने भनेर सञ्चार माध्यममा समाचार आएकोमा दमकमा आफ्‌नो डेरी नै नरहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । प्रहरीले चाँडै नै मुख्य अभियुक्तलाई पक्राउ गरी घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ ।

सम्बन्धित समाचार