२०८३ असार ३० गते , मंगलबार

झापा प्रहरीले गोदामबाटै उठायो तेस्रो मुलुकबाट आयातित 'चाइनिज खरबुजा'को बीउ

sajilo news
झापा
२०८३ असार २९ गते , सोमबार
झापा प्रहरीले गोदामबाटै उठायो तेस्रो मुलुकबाट आयातित 'चाइनिज खरबुजा'को बीउ

झापाको भद्रपुर-३ स्थित ज्ञानेचोकको एक घरको गोदामबाट प्रहरीले ठूलो मात्रामा चाइनिज खरबुजाको बीउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार साँझ ५ बजे ज्ञानेचोक निवासी भिमलाल सुवेदीको घरमा राखिएको ९४८ बोरा चाइनिज खरबुजाको बीउ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले दुई वटा गोदामबाट खरबुजाको बीउ छापा मारेर बरामद गरेको हो । बरामद गरिएको बीउ तेस्रो मुलुकबाट नेपाल आयात गरिएको हो । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको जेठ महिनामै ‘मेलन सिड’ को नाममा ३ अर्ब रुपैयाँभन्दा बढीको करिब १९ हजार टन खरबुजा–तरबुजाको बीउ आयात भएको छ । जबकि गत वर्ष २०८१/८२ को सोही अवधिमा १४ करोड रुपैयाँ बढीको मात्रै आयात भएको थियो । बरामद गरिएको खरबुजाको बीउ एउटा बोरामा ४० केजीको दरले रहेको छ ।

९४८ बोरामा जम्मा ३७ हजार ९२० केजी खरबुजाको बीउ भद्रपुर भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो खरबुजाको बीउको मूल्याङ्कन करिब एक करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । यता बीउ धनी अझै सम्पर्कमा आएको छैन । बीउ धनी र प्रहरीबीच गोदाम छापा मार्नु अघि कुराकानी भएको बताइएको छ । बीउ धनीले तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी आयातित बीउको बिलबिजक रहेको जानकारी गराए पनि प्रहरीले छापामा मारेर जफत गरेको हो । तर, प्रहरीले ५ घण्टा लगाएर बीउ जफत गर्दा पनि सम्बन्धी धनी बिलबिजकसहित घटनास्थल उपस्थित नभएको बताइएको छ । 

सम्बन्धित समाचार