सीमावर्ती क्षेत्रबाट ३२६ ग्राम ब्राउन सुगरसहित दुई तस्कर पक्राउ
भारत–नेपाल सीमामा लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले पनि सक्रियता देखाएको छ । किशनगञ्ज जिल्लाको सुखानी प्रहरी चौकी क्षेत्रमा प्रहरी र एसएसबीको संयुक्त टोलीले ३२६ ग्राम ब्राउन सुगरसहित दुई तस्करलाई पक्राउ गरेको हो । भारत–नेपाल सीमामा लागूऔषध ओसारपसार विरुद्धको अभियान जारी छ । तस्करहरूको साथबाट ३२६ ग्राम ब्राउन सुगर, नगद, दुईवटा मोबाइल फोन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
रिपोर्टका अनुसार, आइतबार साँझ एसएसबीको १९ औं बटालियनको ई–कम्पनी, सुखानी बीओपीले दुई जना व्यक्तिहरू लागूऔषध किन्न र बेच्न कडोगाउँ बजारमा आउने सूचना प्राप्त गरेका थिए । गस्ती टोलीले राति करिब १०ः३० बजे तीव्र गतिको मोटरसाइकलमा सवार दुई जना संदिग्धहरूलाई रोक्ने प्रयास गरेको थियो । प्रहरीलाई देखेर उनीहरू मोटरसाइकल छोडेर भागेपनि संयुक्त टोलीले उनीहरूलाई घेरेर पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बहादुरगञ्ज प्रहरी चौकी गंगी शहर निवासी ४७ वर्षीय साजिद आलम र बहादुरगञ्ज प्रहरी चौकी कुम्हारटोली निवासी २८ वर्षीय तश्बर आलम रहेका छन् ।