कचनकवल र गौरादहमा करेन्ट लागेर दुईजनाको मृत्यु
झापाको कचनकवल र गौरादहमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । गएराति अन्दाजी ९ बजे कचनकवल गाउँपालिका- ३ पाँचबिचे बस्ने २४ वर्षीय कमल गदाइलीलाई आफ्नै बारीमा जङ्गली हात्ती रोकथामका लागि राखिएको करेन्ट अचानक लागेको थियो । घाइते गदाइलीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । प्रहरी चौकी पथरियाबाट प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गौरादह ६ मा करेन्ट लागेर अर्का युवकको ज्यान गएको छ । बिहीबार साँझ ७:४५ बजे गौरादह-६ बिरबल चोक बस्ने २५ वर्षीय विनोद शर्माले आफ्नै घरको फलामको स्टेन भएको पङ्खा चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइतेलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगी डाक्टरले चेकजाँच गर्ने क्रममा राति ८:४५ बजे मृत घोषणा गरेका थिए । हिजो दिउँसो सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमपश्चात् सदगदको लागि भाइ परशुराम शर्माले शव बुझिलगेको प्रहरीले जनाएको छ ।