२०८३ श्रावण ४ गते , सोमबार
नारायणगढ–मुग्लिन सडकमा दुई बस र एक ट्रक ठोक्किँदा ३० घाइते
चितवन नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्।