कोलकाताबाट विराटनगर आइपुग्यो ‘कार्गो रेल’
भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ । खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर यही साउन १ गते हिँडेको ४० कन्टेनरसहितको सो कार्गाे रेल आज यहाँ आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए ।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।
यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेललाई बिदाइ गर्नुभएको विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यो रेल सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि एकैपटकमा ४० फिटका ४५ वटा कन्टेनरहरू रेलमार्फत विराटनगर आइपुग्ने बताइएको छ ।
सडकमार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यूनलागत हुनुका साथै करिब २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ ।
वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यसायी खुसी देखिन्छन् । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते आएको थियो ।