२०८३ श्रावण ६ गते , बुधबार
मेचीनगरमा होटल व्यवसायी घरबाट लाखौँको गरगहना चोरी
मेचीनगरका होटल व्यवसायी शिव दाहालको घरबाट लाखौँको गरगहना चोरी भएको छ । मेचीनगर –१० हिमालय टोल बस्ने दाहालको घरमा हिजो कोही नभएको बेला घरको कम्पाउन्ड वालबाट छतमाथि चढेर फलामको झ्याम्पलले सिँढीको ढोका फुटाई घरभित्र प्रवेश गरी घरको पश्चिमतर्फको कोठाको ताल्चा फुटाई कोठाभित्र थ्री पिस दराजमा रहेको गरगहना चोरी भएको हो ।
दराजमा रहेका दुई तोलाको .सुनको सिक्री ,सुनको पिँजडा ,सुनको कानमा लगाउने टप ,सुनको औँठी ,सुनको तिलहरी ,चाँदीको गरगहना गरी अन्दाजी १२ लाख ६० हजार बराबरको चोरी भएको पीडितले बताएका छन् ।
गए राति ११ः५२ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर भएपछि प्रहरी नायव निरीक्षक शंकरकुमार खत्रीको कमान्डमा प्रहरी टोली पुगेको थियो । चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।