दमकमा दुईवटा सवारी साधनसँग ठोक्किँदा साइकल यात्रीको मृत्यु
दमकमा दुईवटा सवारी साधनसँग ठोक्किँदा एक साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइलक चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधवार साँझ ५ः३० बजे दमक नगरपालिका-४ भाइरल रोडको संगम चोकस्थित भित्री सडक खण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई सामान्य ठक्कर दिएको थियो ।
साइकल अनियन्त्रित हुँदा सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा साइकल यात्री दमक-३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए । टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई आम्दा अस्पताल दमक पठाइएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा बिहीबार बिहान ४ बजे उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतसमेत घाइते भएका छन् । उनको निधार, दुवै हात र खुट्टामा चोट चोट लागेकोले बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यता प्रहरीले साइकल, मोटरसाइकल, कार र कार चालक मोरङ उर्लाबारी नगरपालिका-७ निवासी ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएको छ ।