२०८३ श्रावण ७ गते , विहीबार

अर्जुनधाराका १७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

sajilo news
रासस
२०८३ श्रावण ७ गते , विहीबार
अर्जुनधाराका १७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ अव्यवस्थित बसोवासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिने भएको छ।जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीवार एक कार्यक्रम आयोजना गरी पुर्जा वितरण गर्ने तयारी गरेको हो।

पुर्जा वितरणको तयारीस्वरूप आज सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ। अनुगमन टोलीमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्साल, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतको सहभागिता रहेको थियो।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समिति झापाका सदस्य सचिव लम्सालका अनुसार पालिकाले गत आर्थिक वर्षमा जारी गरेको सूचनाका आधारमा प्रक्रिया पूरा गरेका अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न लागिएको हो।

गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिका–११ का ९६ अव्यवस्थित बसोबासीलाई असार महिनामा तथा थप २३ जनालाई कात्तिक महिनामा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो। प्रमुख लम्सालका अनुसार सरकारले तोकेको राजस्व बुझाएका सात सेवाग्राही भने सम्पर्कमा नआएकाले उनीहरू पुनः सम्पर्कमा आएपछि पुर्जा वितरण गरिनेछ।

सम्बन्धित समाचार