हृदयाघातबाट देवभूमि विद्यालयका संस्थापक सुमन जमरकट्टेलको निधन
झापा अर्जुनधारा–५ स्थित देवभूमि विद्यालयका संस्थापक तथा झापाका परिचित शैक्षिक, सामाजिक एवं धार्मिक व्यक्तित्व सुमन शर्मा जमरकट्टेलको हृदयाघातका कारण निधन भएको छ। उनी ५० वर्षका थिए।
परिवारका अनुसार आज बिहान करिब ८ बजे विद्यालय परिसरमै अचानक छाती दुखेपछि उनी बेहोस भएका थिए। तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो।
जमरकट्टेल झापाको शैक्षिक क्षेत्रमा लामो समयदेखि सक्रिय थिए। उनी अर्जुनधारा–५ स्थित देवभूमि विद्यालयका संस्थापकका रूपमा परिचित थिए भने शिक्षा, समाजसेवा र धार्मिक गतिविधिमा समेत उत्तिकै सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
उनी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकारका रूपमा आबद्ध थिए। त्यसैगरी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष रहेका जमरकट्टेल विभिन्न सामाजिक अभियानमा अग्रणी भूमिका खेल्दै आएका थिए। धार्मिक क्षेत्रमा पनि उनको सक्रिय सहभागिता रहेको थियो। उनी श्री श्री ठाकुर अनुकूलचन्द्र धर्मसँग आबद्ध रहँदै जिम्मेवार पदमा कार्यरत थिए।
उनको निधनले झापाको शैक्षिक, सामाजिक तथा धार्मिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघ–संस्था, शैक्षिक व्यक्तित्व तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। स्वर्गीय जमरकट्टेलका श्रीमती, एक छोरा र एक छोरी छन्।