भद्रपुरमा लागूऔषध भित्राउने नयाँ काइदा : डाइपरभित्र ब्राउनसुगर भित्राउने बुबा-आमासहित तीन पक्राउ
झापा । आफ्नै छोराले लगाएको डाइपरभित्र लागूऔषध ब्राउन सुगर भित्राउने बुबाआमासहित तीन जना प्रहरी फन्दामा परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ५ः१५ बजेको समयमा भद्रपुर नगरपालिका–५ स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अटो चालक भारत किसनगञ्ज जिल्ला घर भई हाल बिर्तामोड नगरपालिका ५ बस्ने ३० वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन, सोही ठाउँका ३८ वर्षीय मोहम्मद तजरुल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले आफ्नै दुई महिनाको छोरा सोहेल आलमलाई प्रयोग गरी भारतको गलगलियाबाट ब्राउनसुगर नेपाल भित्राएका थिए । बिर्तामोडबाट मे १ ह ५०११ नम्बरको अटो लिएर उनीहरु भद्रपुर नाका आइपुगेका थिए । अटो मेची पुलमा राखेर उनीहरु ब्राउन सुगर खरिद गर्न गलगलिया पुगेका थिए ।
त्यहाँबाट खरिद गरेका ब्राउन सुगरको सानो पोकालाई बच्चाले लगाएको डाइपरभित्र लुकाएर ल्याएका थिए । प्रहरीले चेकजाँच गर्दा डाइपरमा प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । यता वडा प्रहरीले बच्चासहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ ।