२०८३ श्रावण १० गते , आईतबार

सिँचाइ डिभिजनका प्रमुख र मेकानिकल अधिकृत ८ लाख रुपैयाँ घुससहित पक्राउ

sajilo news
झापा
२०८३ श्रावण ९ गते , शनिबार
सिँचाइ डिभिजनका प्रमुख र मेकानिकल अधिकृत ८ लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले ८ लाख २१ हजार रुपैयाँभन्दा बढी रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मारेको थियो । सो क्रममा डिभिजन प्रमुख ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको थियो । यस्तै, खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको थियो ।

पल्स कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको रकम माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेको आरोप छ । सो क्रममा मेकानिकल अधिकृत चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझी सो रकम डिभिजन प्रमुखको सरकारी क्वाटरमा पु¥याएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए ।

डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सम्बन्धित समाचार