२०८३ श्रावण ९ गते , शनिबार

जापानीज इन्सेफलाइटिसले हल्दीबारी त्रसित, प्रमीला राजवंशीको अवस्था चिन्ताजनक

sajilo news
झापा
२०८३ श्रावण ९ गते , शनिबार
जापानीज इन्सेफलाइटिसले हल्दीबारी त्रसित, प्रमीला राजवंशीको अवस्था चिन्ताजनक

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका–२ कदमचोकमा व्यवसाय गर्दै आएकी प्रमीलाकुमारी राजवंशी यतिबेला प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्षमा जीवन र मृत्युसँग लडिरहेकी छिन। नेपाली काङ्ग्रेसकी सक्रिय कार्यकर्तासमेत रहेकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोत र उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था अत्यन्तै चिन्तित र जटिल बनेको छ।

​नेपाली काङ्ग्रेस आबद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा स्थानीय काङ्ग्रेस नेता मोहन कुमार राजवंशीकी श्रीमती प्रमीलालाई दुई दिनअघि एक्कासि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। त्यस लगत्तै हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाको प्रत्यक्ष समन्वय र तत्परतामा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। सेतो लामखुट्टेको टोकाइका कारण श्रीमती अहिले जीवनको अन्तिम लडाइँ लडिरहेको र डाक्टरहरूले अवस्था निकै नाजुक रहेको बताएको उनका श्रीमान् मोहन कुमार राजवंशीले भावुक हुँदै जानकारी दिएका छन्।

​हल्दीबारी गाउँपालिकाभित्रै जापानीज इन्सेफलाइटिसको यति गम्भीर केस भेटिएपछि अहिले सिङ्गो गाउँपालिका क्षेत्रमै तीव्र त्रास र चिन्ता फैलिएको छ। विशेष गरी धानखेत तथा सुँगुर(बङ्गुर र हाँस(कुखुरापालन गरिने ग्रामीण क्षेत्रमा क्युलेक्स प्रजातिको सेतो लामखुट्टेको जोखिम उच्च हुने भएकाले हल्दीबारीमा सङ्क्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने चुनौती थपिएको छ। गाउँपालिका स्वास्थ्य शाखाले बिरामीको तत्काल उद्धार गरी अस्पताल भर्नामा सहजीकरण गरे पनि अब समग्र गाउँपालिकाभरि नै लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने, घर वरिपरि पानी जम्न नदिने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्न सचेतना फैलाउने जस्ता ठोस कदम द्रुत गतिमा चाल्नुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार