२०८३ श्रावण ९ गते , शनिबार

निशा डाँगीको पहलमा निर्माण सुरु भएको एक करोडको विश्रान्ति घाट अलपत्र

sajilo news
झापा
२०८३ श्रावण ९ गते , शनिबार
निशा डाँगीको पहलमा निर्माण सुरु भएको एक करोडको विश्रान्ति घाट अलपत्र

नेत्र विक्रम बिमली । हल्दीबारी

झापाको हल्दीबारी गाउँपालिका–२ पाराखोपीस्थित पूर्वदेउनिया खोलामा निर्माणाधीन विश्रान्ति घाट लामो समयदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ। संघीय सांसद निशा डाँगीको पहलमा संघीय सरकारको १ करोड रुपैयाँ बजेटबाट निर्माण सुरु गरिएको विश्रान्ति घाट अलपत्र परेपछि स्थानीयवासीमा निराशा बढ्दै गएको छ । सो योजना कहिले सम्पन्न हुनेमा समेत स्थानीयवासी अन्योल देखिएका छन्।

स्थानीयका अनुसार हाल निर्माणाधीन घाट अझै पूर्ण हुन सकेको छैन। यसअघि सोही क्षेत्रको दक्षिणतर्फ प्रदेश सरकारको करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको अर्को विश्रान्ति घाट पनि प्रयोगविहीन र जीर्ण अवस्थामा छ। एउटै स्थानमा दुई–दुई वटा योजना निर्माण भए पनि कुनै पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा सरकारी लगानीमाथि प्रश्न उठ्न थालेको छ। हाल निर्माणाधीन घाटलाई पूर्णता दिन अझै करिब ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ। तर उक्त रकमको व्यवस्थापन कसरी हुन्छ र निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्नेबारे कुनै स्पष्टता छैन।

स्थानीयवासीले अहिले सबैभन्दा बढी चासो संघीय सांसद निशा डाँगीतर्फ केन्द्रित गरेका छन्। उनकै पहलमा बजेट विनियोजन भएर सुरु भएको योजना अलपत्र अवस्थामा पुगेकाले अब यसलाई पूर्णता दिन सांसद डाँगीले कस्तो पहल गर्नेमा भन्ने प्रश्न उठेको छ।

स्थानीयका अनुसार बजेट ल्याउनु मात्र पर्याप्त हुँदैन, योजना सम्पन्न गराएर जनताले उपयोग गर्न सक्ने अवस्था सिर्जना गर्नु जनप्रतिनिधिको दायित्व पनि हो। स्थानीयले संघीय सांसद निशा डाँगी, प्रदेश सरकार, हल्दीबारी गाउँपालिका र सम्बन्धित निकायसँग निर्माण कार्य तत्काल सम्पन्न गरी विश्रान्ति घाट सञ्चालनमा ल्याउन माग गरेका छन् । करोडौँ रुपैयाँ खर्च गरेर अधुरै छोडिने यस्ता योजनाप्रति सम्बन्धित निकायले जबाफदेही बन्नुपर्ने उनीहरूको जोड दिएका छ।

सम्बन्धित समाचार