ज्योतिर्मयी नायकले जितिन् इन्डियन आइडलको उपाधि
गायन रियालिटी शो ‘इन्डियन आइडल’ को १६औँ संस्करणको १० महिना लामो यात्रा सम्पन्न भएको छ। यस पटकको उपाधि उडिसाकी २४ वर्षीया ज्योतिर्मयी नायकले जितेकी छन्।
उत्कृष्ट गायकीका साथ दर्शक र निर्णायकको मन जित्न सफल ज्योतिर्मयीले ट्रफीसँगै २० लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। यसैगरी, जबलपुरका तनिष्क शुक्ला यस संस्करणमा पहिलो रनर-अप बन्न सफल भए। यस पटकको इन्डियन आइडलमा गायिका श्रेया घोसाल, संगीतकार विशाल दादलानी र र्यापर बादशाह निर्णायकका रूपमा रहेका थिए।
‘यादोँकी प्लेलिस्ट’ थिममा आधारित यस शोलाई दर्शकले अत्यधिक रुचाएपछि दुई पटक तीन/तीन महिनाका लागि समय थप गरिएको थियो।
ट्रफी जितेपछि खुसी व्यक्त गर्दै ज्योतिर्मयीले आफ्नो यो सफलताको श्रेय ती क्यान्सर रोगीहरूलाई दिइन्, जसलाई उनले संगीत थेरापीमार्फत निको पार्न वा राहत दिन सहयोग गरेकी थिइन्।
आफ्नो १० महिना लामो सांगीतिक यात्राको अनुभव बाँड्दै विजेता ज्योतिर्मयीले भनिन्, “यो यात्रा करिब एक वर्ष लामो रह्यो। म १४ सेप्टेम्बरमा मुम्बई आएकी थिएँ, र यो साँच्चै नै एउटा अद्भुत यात्रा बन्यो। अन्ततः ट्रफी जित्दै यो यात्रा फलदायी भएकोमा म निकै खुसी छु।”
पुरस्कार रकमको प्रयोगबारे सोधिएको प्रश्नमा उनले आफूले कहिल्यै पुरस्कारको रकमबारे नसोचेको बताइन्।उनले भनिन्, “मेरो ध्यान सधैँ आफ्नो उत्कृष्ट प्रस्तुति दिने र निर्णायकहरूबाट राम्रो प्रतिक्रिया लिनेमा मात्रै थियो। मैले रकमबारे कहिल्यै विचार नगरेकाले यो पैसा कहाँ र कसरी प्रयोग गर्ने भन्नेबारे अब मात्र सोच्नेछु।”