कनकाईको सेकुवा कर्नर प्रहरीको छापा, लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
बिर्तामोड । प्रहरीले झापाको कनकाई नगरपालिका–२ बाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कनकाई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरमा छापा मार्दा १०२ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, सात हजार दुई सय वटा ट्रामाडोल क्याप्सुल र सात हजार ४५० वटा निटाजेन ट्याब्लेट बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक पाठकका अनुसार लागूऔषधसहित भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नम्बर ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नम्बर ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी पक्राउ परेका छन् ।
उनीहरूको साथबाट दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । बरामद भएको लागूऔषधको मात्रा हेर्दा यो व्यक्तिगत प्रयोगका लागि भन्दा पनि व्यवस्थित वितरण सञ्जालसँग सम्बन्धित हुन सक्ने आशंका प्रहरीले गरेको छ । अनुसन्धानलाई थप व्यापक बनाएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।