२०८३ श्रावण २० गते , बुधबार

हल्दीबारी गाउँपालिका अर्को स्थानीय तहसँग नगाभिने

sajilo news
झापा
२०८३ श्रावण १९ गते , मंगलबार
हल्दीबारी गाउँपालिका अर्को स्थानीय तहसँग नगाभिने

झापाको हल्दीबारी गाउँपालिकाले अर्को स्थानीय तहसँग गाभ्ने सम्भावनालाई अस्वीकार गरेको छ। हल्दीबारीको आफ्नै ऐतिहासिक पहिचान, भौगोलिक अवस्था, सामाजिक संरचना तथा स्थानीय आवश्यकता रहेको भन्दै पालिकाको अस्तित्व र सीमा परिवर्तन नगर्ने स्पष्ट निर्णय गरेको हो। हल्दीबारी, हल्दीबारी गाउँपालिकाको पालिका सीमा हेरफेर तथा स्थानीय तहको वर्गीकरण पुनरावलोकनसम्बन्धी विषयमा हिजो सर्वदलीय छलफल सम्पन्न भएको थियो ।

छलफलमा सहभागी राजनीतिक दल तथा सरोकारवालाहरूबीच हल्दीबारी गाउँपालिकालाई कुनै पनि अन्य स्थानीय तहसँग समायोजन वा गाभ्ने कार्य नगर्ने र यसको भौगोलिक, ऐतिहासिक तथा प्रशासनिक पहिचानलाई यथावत् कायम राख्ने विषयमा सर्वसम्मत धारणा बनेको हो ।

त्यसैगरी, जनसङ्ख्याको आधारमा हाल कायम रहेका वडा नं. १ र वडा नं. २ मा थप एक/एक वडा कायम गरी हालको ५ वडालाई ७ वडामा विस्तार गर्न सम्बन्धित सरकारी निकायसमक्ष आवश्यक पहल तथा औपचारिक माग गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले स्थानीय तहको पुनर्संरचना गर्दा स्थानीय जनताको भावना, भौगोलिक सुगमता, प्रशासनिक पहुँच, जनसङ्ख्या तथा ऐतिहासिक पहिचानलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छ।

सम्बन्धित समाचार