झापाका दुई पालिकासहित कोशीका ९ स्थानीय तहको लेखापरीक्षण भएन
भद्रपुर । कोशी प्रदेशका ९ स्थानीय तहले आर्थिक वर्ष २०८१।०८२ को लेखा परीक्षण गराएका छैनन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आठौँ वार्षिक प्रतिवेदन अनुसार गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण देखाउँदै झापा, मोरङ र सुनसरीका ९ स्थानीय तहको लेखा परीक्षण नभएको जनाइएको छ ।
महालेखाले कार्यालय सञ्चालनमा समस्या उत्पन्न भएकाले लेखा परीक्षण सम्पन्न हुन नसकेको जनाएको छ। लेखा परीक्षण हुन नसकेका स्थानीय तहहरूमा झापाका कचनकवल गाउँपालिका र झापा गाउँपालिका, मोरङका रंगेली नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिका, तथा सुनसरीका इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका रहेका छन्। सो घटनाका कारण लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको पारदर्शिता, वित्तीय अनुशासन तथा जबाफदेहिताको मूल्याङ्कन समयमै हुन नसक्ने अवस्था सिर्जना भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।