२०८३ श्रावण २३ गते , शनिबार
कानेपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
मोरङको कानेपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा डुबेर स्थानीय विमल दनुवारका ८ वर्षीय छोरा जीव दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो ४ बजेतिर जीव आफ्ना तीन जना साथीहरूसँग भलुवा खोलामा पौडी खेल्न गएका थिए ।
साँझ ८ बजेसम्म पनि उनी घर नफर्किएपछि आफन्त र परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा सँगै गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिए । लगत्तै बालकका हजुरबुवा शुक्रबहादुर दनुवारले खोलाको दहमा खोजी गर्दा उनलाई मृत अवस्थामा बाहिर निकालेका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि मंगलबारेस्थित ट्रमा सेन्टर पठाएको प्रहरीले जनाएको छ ।