वैशाखयता विपद्बाट २०५ जनाको मृत्यु
२०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिनअनुसार यो अवधिमा विपद्का कारण कुल २०५ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता र १ हजार ३२४ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार वैशाखयता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ। सर्पदंशका ८०१ घटनामा परी ५९ जनाको मृत्यु र ७४९ जना घाइते भएका छन्। त्यसैगरी चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको छ।
मुलुकभर घटेका विपद् घटनाबाट कुल ५ हजार ४५७ परिवार प्रभावित भएका छन्। हावाहुरीका ४८० घटनामा १ हजार ३५८ परिवार र आगलागीका घटनामा १ हजार १७० परिवार प्रभावित भएका छन्।