२०८३ श्रावण २५ गते , सोमबार
पहिरोले मेची राजमार्ग अवरुद्ध, सवारी आवागमन प्रभावित
अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ। गएराति इलाम नगरपालिका–११ स्थित ठाडे खोलाको गोलाखर्क–बेलासे सडकखण्डमा अविरल वर्षासँगै पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावतमा समेत समस्या भएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन अलपत्र पर्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
अविरल वर्षा भइरहेकाले उक्त सडकखण्डमा थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेको हुँदा यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।