उच्च अदालतका न्यायाधीश सवार स्कोरपियो गाडी दुर्घटना, ६ जना घाइते
मकवानपुरको भीमफेदीमा उच्च अदालत जनकपुर अस्थायी अदालत वीरगन्जमा कार्यरत मुख्य न्यायाधीश गोकर्ण डाँगी र उनको परिवार सवार स्कोर्पियो दुर्घटनामा परेको छ। आज बिहान ७ बजे भएको दुर्घटनामा परेर मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए ।
घाइते हुनेहरुमा मुख्य न्यायाधीश दाङ तुलसीपुर उपमहानगरपालिका ९ बस्ने वर्ष ५७ का गोकर्ण डाँगी ( टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ),रजिष्टार बैतडी दशरथचन्द नगरपालिका ७ सुर्काल बस्ने वर्ष ५१ का तारादत्त बडु (शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ), उनकी श्रीमती वर्ष ४९ की लक्ष्मी बडु (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर ), उनका छोरा वर्ष २५ का रितेन्द्र बडु (टाउकोमा चोट, अवस्था मध्यम ) , छोरी वर्ष ३१ की रिता बडु (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ) र चालक दाङ राप्ती नगरपालिका ८ बस्ने वर्ष ३२ का छुनिलाल चौधरी (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ) रहेका छन् । घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ । मकवानपुर भीमफेदी गाउँपालिका ६ जुरीखेलमा स्कोरपियो दुर्घटना भएको हो । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोरपियो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।